एनपीएल मिनी अक्सनबाट ३७ खेलाडी अनुबन्ध, ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् ।
अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् ।
‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद गरिएको छ । दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ ।
चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेबाट ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो ।
यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही १० लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले सात लाख ७५ हजार रुपैयाँमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले सात लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यसैगरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
यस्तै अन्य खेलाडी पनि बिभिन्न टिममा समावेश भएका छन् ।
एनपीएलको हिजोको मिनी अक्सनमा एक सय ५० खेलाडीले भाग लिएका थिए । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम १० लाख र अधिकतम १५ लाख, ‘बी’ श्रेणीको न्यूनतम पाँच लाख र अधिकतम १० लाख तथा ‘सी’ श्रेणीको न्यूनतम दुई लाख र अधिकतम पाँच लाख रुपैयाँ मूल्य राखिएको थियो ।
योसँगै आठ टोलीमा ८८ जना खेलाडी आबद्ध भएका छन् । हरेक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब आठवटै टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE