भारतीय विदेश सचिव विक्रम मिश्रीको दिनभर राजनीतिक दौडधुप

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणको पहिलो दिन उच्चस्तरीय भेटवार्ता गरेका छन् । उनले प्रधानमन्त्री, राष्ट्रपतिसहित विभिन्न दलका शीर्ष नेतासँग तीव्र गतिमा आइतबार नै भेटवार्ता गरेका हुन् । आइतबार बिहान नेपाल आइपुगेका मिस्रीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो भेट गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा भेट गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका मिस्री त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेटेर मिस्री प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणको निम्ता दिन नेपाल आएका मिस्रीले नेपालमा गरेका उच्चस्तरीय भेटवार्तामा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएका छन् विदेश सचिव मिस्रीसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताएका थिए ।
विदेश सचिव मिस्रीसँगको भेटपछि राष्ट्रपति नेपाल र भारतबिच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको र दुई मुलुकबिचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।
विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबिचको प्रगति एवम् विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका थिए ।
भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका छन् । सिंहदरबारमा भएको शिष्टाचार भेटपछि मिस्रीले प्रधानमन्त्री ओलीलाई निम्तो हस्तान्तरण गरेको बताइएको छ ।
प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने लगभग निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि आधिकारिक रूपमा ओलीको भ्रमण मिति भने औपचारिक रूपमा सार्वजनिक भैसकेको छैन । विदेश सचिव मिस्रीले आइतबार नै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईसँग दुई पक्षीय भेटवार्ता भएको छ । भ्रमण सकेर मिस्री सोमबार भारत फर्कनेछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE