शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताएका छन् । बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गरे ।
उनले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताए । प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको उनले बताए ।
नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भन्दै प्रश्न गरे । राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको बताए । नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने बताए ।
महासचिव पोखरेलले भने, ‘कहिले कहीँ नेपाली काँग्रेसभित्रै बहस चलेको सुन्दछु म । उदेक लाग्दो छ । नेपाली काँग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ । शेरबहादुर दाई कति पटक प्रधानमन्त्री हुने ? अब अरु मलाई दिनुपर्दछ । यो प्रधानमन्त्री भन्नेकुरा पालोको कुरा हो र विश्वासको कुरा हो ।
पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ । यति कुरा त लोकतन्त्रमा बुझ्नुप¥यो नि । यो आलोपालोको कुरा हो र ? आदरणीय देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, कति प्रधानमन्त्री हुनुभयो भन्दा एक कार्यकाल पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन ।
एक कार्यकाल भनेको त पाँच वर्ष होला नि । नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाजीले व्यहोर्नुपर्ने ? राजनीति अस्थिर रहने, त्यसपछि हामी कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने यो उचित तरिका हुनसक्दछ ? त्यस अर्थमा नेपालको राजनीतिमा जे समस्या छ, त्यसमा प्रवेश गरेर समाधान खोज्न सक्नुपर्दछ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE