चीन-भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित, नेपालले लाभ उठाउन सक्नुपर्छ : विज्ञहरू

काठमाडौं । विज्ञहरूले चीनमा सम्पन्न सांघाई सहयोग सङ्गठन (एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित भएको बताएका छन् ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले गरेको कार्यक्रममा उनीहरूले चीन–भारत एकताको लाभ नेपालले उठाउन सक्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहाल, जापानका लागि नेपालका पूर्व राजदूत डा. विष्णुहरि नेपाल, द्वन्द्व विशेषज्ञ डा. विष्णुराज उप्रेती, एमालेका विदेश विभाग सदस्य गोपाल खनाल र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरण कूटनीतिक क्षेत्रमा कोशे ढुङ्गा साबित भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले उठाएको सीमा विवादको सन्दर्भलाई चिनियाँ पक्षले नोटमा लिएको दाबी गर्दै उनीहरूले त्यसको परिणाम समय क्रममा देखिने धारणा राखे ।
भारत र चीनको एकतामा रुस पनि एकसाथ रहेकाले पश्चिमा शक्ति कमजोर हुँदै गएको उनीहरूको ठहर छ । एससीओ सम्मेलनपछि एसियामा विकासको गति पनि तीव्र हुने उनीहरूको विश्वास छ ।
नेपालको समग्र विकासमा चीन र भारतको महत्त्वपूर्ण योगदान रहेकाले नेपालले कूटनीतिक कौशलता र सशक्त संवादमार्फत सीमा लगायतका समस्या समाधान गर्नुपर्ने उनीहरूले सुझाव दिएका छन् ।
विज्ञहरूले प्रधानमन्त्रीले विदेशी भूमिमा देशको पक्षमा अडान लिएका बेला देशभित्र केही दल र नेताहरूले अनावश्यक भ्रम र हल्ला गर्नु दुःखद भएको बताएका छन् । प्रधानमन्त्रीले जलवायु, कृषि, विकास, पूर्वाधार लगायत विश्व जगतका साझा मुद्दा पनि सम्मेलनमा उठाएको उनीहरूले जानकारी दिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE