नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बिहीबार गृह मन्त्रालयमा एक समारोहकाबीच गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई फुली लगाइदिएका हुन् ।
यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह लिँदै उनले सरकारले दिएको जिम्मेवारी निष्ठापूर्ण, अनुशासित र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा उनले विभिन्न घटनाक्रममा ज्यान गुमाएका प्रहरी सङ्गठनका सदस्यहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको सहज जीवनयापनको कामना गरे । उनले आफ्नो कार्यकालमा नागरिकमा राज्यमाथिको विश्वास र भरोसा अभिवृद्धि गर्न सधैँ प्रयत्नरत रहने समेत बताए ।
उनले भने, ‘नेपाल सरकार गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठापूर्ण, अनुशासन, सेवा भाव र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
हाल प्रचलित प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समयका लागि मात्र महानिरीक्षकमा रहनेछन् ।
छलफलको क्रममा रहेको प्रहरी विधेयक पारित हुन नसके उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्नेछन् । २०२७ मङ्सिर २३ मा तेह्रथुममा जन्मिएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।
यो अवधिमा उनले मोरङ, धरान, दरबारमार्ग, बागलुङलगायतका थुप्रै प्रहरी इकाइमा नेतृत्व गरिसकेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE