काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।
सरकारले बिहीबार गरेको निर्णय गलत भएको उल्लेख गर्दै महामन्त्री थापाले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै थापाले भने, ‘सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ ।’
सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्यांकन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो । सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ । त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौं,’ थापाले भने ।