प्रधानमन्त्री कार्कीको प्रश्नः सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

काठमाडौं । नेपालको ४२ औं तथा पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । जेनजी आन्दोलनबाट देशको बागडोर सम्हाल्न आएकी कार्कीले भदौ २३ र २४ गते भएको आगजनी र तोडफोड गर्नेमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएकी छन् । कार्कीको पहिलो निर्णय भने आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा र मृतकका परिवारलाई प्रतिब्यक्ती १० लाख दिने निर्णयमा हस्ताक्षर गरेकी छन् ।
नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री कार्कीले आईतवार सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उनी शनिवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् ।
जेन–जी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा पदबाट राजीनामा दिएका थिए । जेन–जी प्रदर्शनमा भएको अत्याधिक बल प्रयोग र एकैदिनमा ठूलो संख्यामा युवाहरु मारिएपछि उनले सत्ता छाडेका हुन । कार्की नेपालको ४२ औँ तथा प्रथम महिला प्रधानमन्त्री बनेकी छन् । कार्यभार सम्हाल्दै प्रधानमन्त्री कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको भन्दै दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाइन ।
उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आगजनी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको उल्लेख गरिन । तोडफोड आगजनी देखेर आफूलाई लाज लागेको पनि प्रधानमन्त्री कार्कीले बताइन । नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उनको प्रश्न छ । प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको उनको भनाई छ ।
जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिए । प्रधानमन्त्री कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताइन ।
जेन—जी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने प्रतिबद्धता जनाइन ।
उनले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत गरेकी छन् । त्यस्तै, जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ । कार्यभार सम्हाल्दा आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गरेकी हुन । २३ र २४ भदौमा भएको जेन–जी युवाको आन्दोलनका क्रममा ५१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE