बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुँदैन : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसकिने बताए । महासचिव पोखरेलले कुनै राजनीतिक दलका नीतिहरू मन परेनन् भने नयाँ राजनीतिक दलहरू खोल्न मिल्ने जिकिर गरे । उनले जुन राजनीतिक दलहरू नेतृत्वमा छन्, उनीहरूले नै एकाधिकार प्राप्त गर्दछन् भन्ने कुरा संविधानको मान्यता नरहेको बताए ।
साथै, महासचिव पोखरेलले नीतिमा प्रतिस्पर्धा लोकतन्त्रको विशेषता भएको जिकिर गरे । उनले एमाले र नेपाली काँग्रेसले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सके त्यो अधिकारलाई संविधानले नरोकेको जिकिर गरे ।
पोखरेलले भने, ‘लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन । कुनै राजनीतिक दलका नीतिहरू मन परेनन् भने नयाँ राजनीतिक दलहरू खोल्न मिल्दछ । जुन राजनीतिक दलहरू नेतृत्वमा छन्, उनीहरूले नै एकाधिकार प्राप्त गर्दछन् भन्ने कुरा संविधानको मान्यता पनि होइन, हाम्रो कसैको आग्रह पनि होइन । नीतिमा प्रतिस्पर्धा लोकतन्त्रको विशेषता हो । त्यस अर्थमा नेकपा एमालेले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सक्छ भने ल्याउनका लागि संविधानले बाटो छेकेको छैन । नेपाली काँग्रेसले अघि सारेको नीति भन्दा राम्रो नीति ल्याउने सामर्थ्य कसैको छ भने संविधानले त्यो अधिकार कसैलाई रोकेको छैन । तर जनताका लागि आफ्ना नीति र योजना, कार्यक्रम अघि बढाइरहेका र बलिदानी पूर्ण गरेका राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुन सक्दैन ।’
महासचिव पोखरेलले नव युवाहरूको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्र लोकतन्त्रलाई कमजोर पार्ने काम भएको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE