मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास जारी, गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र
काठमाडौं । गत शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
शुक्रबार खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक खुल्न नसक्दा शुक्रबार बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य भएका छन् भने कोही गाडीमै र कोही सडकमै सुतेका छन् ।
आज उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास शुरु भएको मुग्लिन प्रहरीले जनाएको छ । तर पहिरो ठूलो भएकाले खुल्न समय लाग्नेछ । सडक डिभिजन कार्यालय भरतपुरले सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।
मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE