बाबुराम भट्टराईले गरे पद त्यागको घोषणा
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा।बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।
मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । भदौ २३ र २४ गते जेनजीले विद्रोह गर्दा भट्टराई समेत निशानामा परेका थिए ।
प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरी ध्वस्त बनाएको थियो । तर भट्टराईले जेनजीले उठाएको मागलाई समर्थन गर्दै आएका छन् । जेनजीको विद्रोहले राजनीतिक दलहरूको नेतृत्वमाथि पद छोड्न पार्टीभित्र दबाब बढ्दै आएको बेला उनले नैतिकताका आधारमा पद त्याग गरेका हुन् ।
भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा पाँच ‘स’ स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवादको राजनीतिक कार्यदिशालाई अवलम्बन गर्ने प्रतिबद्धता बमोजिम २०७३ साल जेठ ३० राजधानीको दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल गठन गरेका थिए ।
त्यतिबेला उनले अगाडि सारेको भिजन २०७४ सालको निर्वाचनबाट अस्वीकृत भयो । निर्वाचनमा पार्टीले नमिठो हार बेहोरेपछि उनले नयाँ शक्तिलाई उपेन्द्र यादव र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग विलय गराए । त्यसपछि जसपा हुँदै २०७९ सालमा नेपाल समाजवादी पार्टी ९नेसपा० पुनर्गठन गरे । माओवादी केन्द्रसँग एकता गर्ने विषयमा पार्टीभित्र तत्कालीन अध्यक्ष महिन्द्र राय यादवसँग मतभेद हुँदा २०८० चैतमा पार्टी विभाजन भएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE