राष्ट्रपति पौडेलको सक्रियतामा सर्वदलीय बैठक, प्रधानमन्त्री,मन्त्रीदेखि दलका दोस्रो तहका नेता सहभागी
काठमाडौं । राजनीतिक गतिविधि सुस्त भएका बेला राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएर चलायमान गराउने प्रयास गरेका छन् । अन्तरिम चुनावी सरकारले राजनीतिक दलहरुसँग संवाद गर्न नसकिरहेको बेला राष्ट्रपति पौडेलले प्रधानमन्त्री, मन्त्री र दलका नेताहरुलाई एकै ठाउँमा जम्मा गरेर छलफल गराएका हुन । फागुन २१ मा तोकिएको प्रतिनिधिसभाको चुनावका लागि वातावरण बनाउन गरिएको छलफलमा शीर्ष नेताहरु भने दोस्रो तहका नेताहरुलाई पठाउँदै सहभागि भएनन् ।
एक महिनादेखि ठप्प भएका राजनीतिक गतिविधि सुरु भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेताहरुको भागाभाग भयो । देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो । तर, पनि दलका बैठक र सभा हुन कठिन भयो । फागुन २१ गते चुनाव तोकिएको छ । तर, दलहरुसँग छलफल भएन भन्दै सरकारको आलोचना भइरहेको थियो ।
सरकारले दलहरुसँग संवाद गर्न सकेन । जसका कारण राष्ट्रपति रामचन्द्र पौडेलले नै शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक बोलाए । जहाँ प्रधानमन्त्री, मन्त्रीदेखि दलका दोस्रो तहका नेताहरुको सहभागिता रह्यो । राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा मुख्य तीन ठूला दलका शीर्ष नेता भने उपस्थित भएनन् ।
जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूला दलका कांग्रेसका सभापति शेरबहादुर देउवा, दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी भएनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सर्वदलीय बैठकमा गएनन् । उनीहरुले दोस्रो तेस्रो तहका नेताहरुलाई बैठकमा पठाएका हुन । दलहरु तंग्रिन नै गाह्रो भएको बेला राष्ट्रपतिले चुनावको वातावरण बनाउनको लागि सरकार र सबै राजनीतिक दलहरूसँग सामूहिक छलफल गरेका हुन ।
अव सरकार र दलका नेताहरु नै सामुहिक छलफलमा जुटेपछि परिस्थिति सहज हुने विश्वास लिइएको छ । राजनीतिक दलका नेताहरुले पनि आ–आफ्ना पार्टीका आन्तरिक बैठक गरेर औपचारिक धारणा बनाउदैछन् ।
माओवादी केन्द्रले चुनावमा जाने निर्णय गरिसकेको छ । नेताहरु जेनजी आन्दोलन र परिस्थितिबारे बल्ल खुलेर बोल्न थालेका छन् । फागुन २१ मा तय गरिएको मध्यावधि निर्वाचन छलफलको मुख्य एजेन्डा भएपछि सहभागि दलका नेताहरुले खुलेर दलको धारणा राखेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE