मखमली फूलको मालाको मुल्य निर्धारण गर्न किसानको माग, बिचौलिया हावी भएको गुनासो
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् ।
तिहार नजिकियसँगै गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा दाजुभाइ–दिदिबहिनिलाइ लगाइदिनका लागि पनि मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ ।
किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताउछिन् । माला लिनको लागि व्यापारीहरु घरमा नै आउने उनको भनाई छ ।
तर मालाको माग उच्च भएपनि मागअनुसार फूल उत्पादन गर्ने किसानले भने उचित मूल्य पाउन सकेका छैनन् । किसान शहदेव बस्नेत पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गर्छन् । पछिल्लो तीन÷चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ । बस्नेतकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको छ
किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताउछीन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको गुनासो गर्दै उनले मालाको मूल्य निधारण गर्न सरकारसँग माग पनि गरिन् । सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने उनको भनाइ छ । यहाँका किसानले मागअनुसार फूलको उत्पादन गरेको उनको दाबी छ ।
थापाजस्तै अन्य अधिकांस किसानले पनि विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या खडा भएको बताउदै मालाको निश्चित मूल्य निर्धारण गर्नपर्नेमा जोड दिएका छन् ।
मालाको निर्धारित मूल्यदर नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको किसानहरुको गुनासो छ । बिचौलिया हावी हुन नदिन र आफुहरुले परिश्रमको उचित मूल्य पाउने व्यवस्था गर्नका लागि पनि फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE