बालगोपालेश्वरमा भाईटीका लगाउनेको भीड
काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाउनेको भीड छ । बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेहरुलाई भाईटीका लगाउन शुरु गरिएको हो । दिदी–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने चलन रहेको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् । तिहारको पाँचौँ दिन आज दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन् ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिकाअनुसार यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा रहेको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दीप, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी–बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
टीका लगाइदिएपछि दिदिबहिनीले दाजुभाईलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतिक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाईटीका लगाएको पौराणिक कथा छ । त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाईटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशिर्वाद लिएको कथा छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE