१ कार्तिक २०८३, शनिबार

झलनाथले बैठकमै मागे अध्यक्ष माधव नेपालको राजीनामा

0
Shares


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालको राजीनामा मागेका छन् । जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै भ्रष्टाचार मुद्दा लागेर सांसद पद निलम्बन हुँदा पनि पार्टी नेतृत्व नछाडेको भन्दै आलोचना गरे ।

उनले भने, ‘मुद्दा लागेपछि त्यस बेलै संसदबाट निलम्बन हुनुभयो । अनि तपाईँ पार्टीमा चाहिँ किन पदमा बस्ने ? कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने, त्यसको अगुवाइ तपाईँले गर्नुस् । तपाईँले नेतृत्व छाड्नुस् ।’

खनालले अध्यक्ष माधव नेपाललाई एकीकृत समाजवादी फुटाएर माओवादीमा जान सुहाउँछ भनेर प्रश्न गरे । एकताका सवालमा आफ्नो धारणा राख्दै नेता खनालले अहिले पार्टी एकता गर्ने समय नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला रहेको बताए ।

‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस्’, बैठकमा खनालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो ।’नेता खनालले माओवादीभित्र धेरै समस्या रहेको भन्दै उनीहरूभित्रै मतभेद रहेको बेला एकता गर्नु उचित नहुने धारणा राखे ।