शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

त्रिवि चमेना गृह निर्माणमा अवरोधः व्यवसायीको चेतावनी

काठमाडौं । त्रिभूवन विश्वविद्यालय ९त्रिवि० मा निर्माणाधीन चमेना गृह भवनको काममा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई निर्माण व्यवसायीहरूले चेतावनी दिएका छन् ।

विद्यार्थी संगठनका नेताहरूले काम शुरु भएपछि विभिन्न बहानामा अवरोध गर्ने र पैसा असुल्ने गरेको आरोप लगाउँदै व्यवसायीहरूले आगामी दिनमा यस्तो गतिविधि भए मौन नबस्ने बताएका हुन् ।

निर्माण व्यवसायी समन महर्जनले त्रिवि बोर्डमा ठेक्का निर्णय प्रक्रियामा विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी हुने गरेको तर काम शुरु भएपछि उनीहरू नै निर्माण रोक्ने र दबाब दिने गरेको आरोप लगाए । ठेक्का प्रक्रियामा विद्यार्थी नेताहरू बोर्डमा बसेर निर्णय गर्ने गरेको उनको भनाइ छ । तर काम शुरु भएपछि पैसा माग्ने गरेको महर्जनले बताए ।

यदि सो क्षेत्र वन वा हरियो क्षेत्र जोगाउनुपर्ने थियो भने ठेक्का अघि नै जानकारी दिनुपर्ने निर्माण व्यवसायी महर्जनको भनाइ छ । महर्जनले केही त्रिवि कर्मचारीले विद्यार्थीलाई उचालेर व्यवसायीसँग पैसा असुल्न लगाउने गरेको गम्भीर आरोप लगाए।

व्यवसायी महर्जनले विद्यार्थीको नाममा गुण्डाहरूले धम्की दिने, थर्काउने र पैसा माग्ने काम गर्ने गरेको बताउँदै यस्ता गतिविधिमा संलग्नहरूलाई कीर्तिपुरवासीले ‘तह लगाउने’ चेतावनी दिए ।

उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयबीच निर्माण हुन लागेको चमेना गृह परियोजना गत मंगलवार विद्यार्थीको विरोधका कारण अस्थायी रूपमा रोकिएको थियो । साउनबाट शुरु भएको निर्माणमा विद्यार्थीले रुख नकाट्न र क्याफ्टेरिया नबनाउन दबाब दिँदै आएका थिए । मंगलवार विद्यार्थी र व्यवसायीबीच झडपको अवस्था सिर्जना भएको थियो ।

निर्माण व्यवसायीहरूले यस्ता अवरोधले परियोजनामा ठूलो क्षति पुग्ने भन्दै त्रिवि प्रशासनसँग तत्काल समाधान खोज्न माग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x