काठमाडौं । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् ।
महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो । लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरु नेपाली कांग्रेस निकट नेविसंघमा आवद्ध रहेको बताइएको छ ।
महेश बस्नेतले पनि आफू सवार गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरे । ‘एयरपोर्टबाट निस्किँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए’, बस्नेतले भने, ‘पछि पुलिसले समायो । हामी चाहिँ हिँड्यौं ।’ उनले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताए ।
‘सरकार अलोकतान्त्रिक भएकाले यिनीले पक्षपोषण गरेका मान्छे पनि अलोकतात्रिक र अराजनीतिक गतिविधिमा नै लागेकै छन्,’ उनले भने, ‘यस्तो गतिविधि लोकतन्त्रको उपहास हो ।’ बस्नेतले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न सबैले पाउने भन्दै फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने बताए ।