शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुले पार्टीको नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्नेमा जोड दिएका छन् । मंगलवार महाधिवेशनका केही प्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पार्टी गम्भीर संकटको सामना गरिरहेको भन्दै उनीहरुले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सक्ने नेतृत्व चुनिनुपर्ने समेत धारणा राखे । पार्टी केन्द्रीय सदस्य समेत रहेकी महाधिवेशन प्रतिनिधि सूर्यकुमारी श्रेष्ठले एमाले विशाल पार्टी भएको कारण महाधिवेशनमार्फत नेतृत्व जाने नेताहरुको आकांक्षा स्वभाविक रहेको बताए । उनले पार्टी चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा एकताका लागि सर्वसम्मत नेतृत्व उपयुक्त हुने बताए । यद्यपि लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन हुनु पनि सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

उनले भने, ‘पार्टीलाई एकढिक्का र बलियो बनाएर अगाडि बढ्ने नेतृत्व चाहिन्छ । एमाले एउटा विशाल पार्टी हो । यो एउटा समून्द्र हो । त्यसकारण महाधिवेशनमार्फत नेतृत्वमा जान चाहनु स्वभाविकै हो । तर अहिले चौतर्फी रुपमा पार्टीमाथि घेराबन्दी भइरहेको बेलामा पार्टीको हित र पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानको लागि केपी शर्मा ओलीलाई सर्वसम्मतीका साथ नेतृत्व दिनुपथ्र्यो । तर मतदानमार्फत नेतृत्व चुन्ने कुराहरु पनि आइरहेको छ । लोकतान्त्रिक पद्धतीमार्फत नेतृत्व चयन गर्ने कुरा पनि सकारात्मक नै छ ।’

महाधिवेशन प्रतिनिधि चक्रप्रसाद स्नेही रसाइलीले पार्टीमा व्यक्तिभन्दा विचारको नेतृत्व हुनुपर्ने धारणा राखे । उनले पार्टीमा विचारभन्दा व्यक्ति हाबी भए पार्टी र मुलुक समेत ठिक ठाउँमा पुग्न नसक्ने बताए । उनले महाधिवेशनमा मत विभाजन हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताए । पार्टीमा मतविभाजन नभए नेतृत्व निरङ्कुश हुनसक्ने उनको बुझाई छ ।
उनले भने, ‘पार्टीमा व्यक्तिको भन्दा विचारको नेतृत्व हुनुपर्छ । कहिल्यै पनि व्यक्तिको नेतृत्व हुदैन र हुनुहुदैन । यो महाधिवेशन हो, महाधिवेशनमा मत विभाजन भएन भने निरङ्कुशता हुन्छ । एकल निर्णय जस्तो हुन्छ त्यसकारण मत विभाजनलाई अन्यथा लिनु हुदैन ।’

पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टी अहिले संकटको अवस्थामा रहेको भन्दै सामुहिक नेतृत्व प्रणाली आवश्यक भएको धारणा राखे । उनले परिवर्तन र पुस्तान्तरणको माग उठिरहेको समयमा एकल नेतृत्व पर्याप्त नहुने उल्लेख गर्दै विचारको नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताए । कम्युनिष्ट पार्टी व्यक्तिगत आधारमा चल्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘पार्टी अहिले संकटको अवस्थामा छ । यो बेलामा सामूहिक नेतृत्व प्रणालीलाई अंगिकार गर्ने, सबैको अस्तित्वलाई स्वीकार गर्ने, सम्पूर्ण कार्यकर्ताको भावनालाई बुझेर अगाडि बढ्न सक्ने सबल र सक्षम नेतृत्व आवश्यक छ । अहिले आम मान्छेले परिवर्तन खोजिरहेको बेला छ । पुस्तान्तरणको प्रश्न पनि उठेको समय छ ।

एकल नेतृत्वले हुँदैन, सामुहिक नेतृत्व चाहिन्छ भन्ने आउँछ । तदअनुसारको नेतृत्व निर्माणमा महाधिवेशन लाग्नुपर्छ जस्तो लाग्छ । पार्टीमा जहिले पनि नेतृत्व विचारको हुन्छ । झन कम्युनिष्ट पार्टी त व्यक्तिगत आधारमा चल्नै सक्दैन ।’
महाधिवेशन प्रतिनिधि विदुर चालिसेले कार्यकर्तामा देखिएको मतभेद रोक्न नेतृत्व स्वयं जिम्मेवार र परिपक्व हुनुपर्ने धारणा राखे । नेतृत्वको वरिपरि मात्र घुम्ने प्रवृत्ति निस्तेज पार्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको उनको बुझाई छ ।

उनले भने, ‘कार्यकर्तामा देखिएको मतभेद रोक्नको लागि सबैभन्दा पहिले नेतृत्व तयार हुनुप¥यो । नेतृत्वले आफ्नो परिपरि घुम्ने जुन माखा प्रवृीत्त छ त्यसलाई निस्तेज पार्नको लागि नेतृत्वले निकै मेहेनत गर्नुपर्छ जस्तो लाग्छ । त्यस्तो नगरेकै कारणले अहिले परिस्थितिहरु जन्मेका हुन् ।’

पोलिटब्युरो सदस्य विशाल भट्टराईले पार्टीको मार्गदर्शन विचारले गर्ने भएपनि नेतृत्वमा व्यवहारिक गुण र क्षमता पनि आवश्यक हुने बताए । उनले विचार, सिद्धान्त र दृष्टिकोणबिनाको नेतृत्व दिशाहीन हुने तर्क गरे । उनले पार्टीले विधान महाधिवेशनमार्फत नीति पारित गरिसकेको उल्लेख गर्दै सोअनुरुप अगाडि बढ्न सक्ने नेतृत्व चयन हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘पार्टीको नेतृत्व विचार र व्यक्ति दुवै कुराको हुन्छ । तर मुख्य कुरा पार्टीलाई गाइड गर्ने कुरा विचार नै हो । यदि विचार, सिद्धान्त र दृष्टिकोण छैन भने नेतृत्व कुइराको काग जस्ता हुन्छ । त्यसकारण विचार प्रधान हो । त्यसैगरी नेतृत्वमा विषेशता र गुणहरु पनि चाहिन्छन् । त्यसकारण विचार र व्यवहारिकता दुवै आवश्यक छ ।’
पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले महाधिवेशनले पार्टीको विधान महाधिवेशनले नीति, विधि र विधान पारित गरिसकेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद, माक्र्सवाद–लेनिनवादका सिद्धान्तअनुसार अघि बढ्ने नेतृत्व आवश्यक रहेको धारणा राखे ।

उनले भने, ‘हाम्रो विधि र नीति विधान महाधिवेशनले नै पारित गरिसक्यो । मुलुकका लागि जनताको बहुदलीय जनवाद, माक्सवाद, लेनिनवादका सिद्धान्त अनुपालन गर्नेगरी अगाडि बढेर पार्टीलाई राष्ट्रिय शक्तिको रुपमा विकास गरेर समाजवादको गन्तव्यमा जाने नीति पारित गरेको छ । सोहीअनुसार अघि बढ्ने नेतृत्व आजको आवश्यकता हो ।’

कोशी प्रदेश सचिवालय सदस्य विनादेवी राईले एमालेजस्तो ठूलो पार्टीमा मत र मन र विभाजन हुनु स्वभाविक भएको बताए । उनले सके सर्वसम्मत नभए लोकतान्त्रिक विधिमार्फत चुनिएको नेतृत्वले पार्टी र देशको हितमा सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको धारणा छ ।

उनले भने, ‘ठुलो पार्टी भएको कारणले र मत विभाजन हुनु स्वभाविक नै हो । त्यसलाई हामीले अन्यथा लिनु हुदैन । सकेसम्म सर्वसम्मत बनाउने प्रयासमा नेताहरु रहेको देखिन्छ । यदि त्यसो हुन सकेन भने लोकतान्त्रिक विधि अपनाएर भएपनि त्यसमार्फत चुनिने नेतृत्वले पार्टी रदेशको लागिसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो विचार छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x