३० आश्विन २०८३, शुक्रबार

बाजुरालगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा भुवा पर्व मनाइँदै

0
Shares


काठमाडौं। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ।
बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ।
दसैँ र तिहारपछिको दोस्रो ठुलो पर्वका रूपमा मनाइने भुवा शुक्रबार अर्थात् आजबाट सुरु भएको हो ।
भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन हरेको छ । बाजुरा सदरमुकाम मार्तडीमा बिहानै सबै टोल–टोलबाट आगोका राँकाहरू बालेर स्थानीय एकै ठाउँमा जम्मा भई भुवा चाली खेल्ने प्रचलन अनुसार बिहानबाटै चाली खेल्न सुरु गरिएको हो । जिल्लाका अरू क्षेत्रमा पनि राँके नाच र भस्व खेलिएको छ ।बाजुराको सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको भुवा पर्व महाभारतको युद्धमा पाण्डव र कौरवबीचको गाथामा आधारित छ । यस पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गर्छन् । किम्बदन्ती अनुसार पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ ।भुवा पर्व पुसेऔंसीका दिनबाट सुरु भई ३ देखि ५ दिनसम्म मनाइन्छ । बाजुरेलीले भने यस पर्वलाई दसैँ तिहारपछिको दोस्रो पर्वका रूपमा मनाउँछन् । विशेष महत्त्वका साथ मनाइने भुवा आफन्तसँगको भेटघाट, आपसी सद्भाव, रमाइलो साटासाट गर्ने विशेष मौका पनि हो । बाजुरामा मात्र नभई सुदूरपश्चिमका अछाम र बझाङमा पनि उत्तिकै महत्त्वका साथ मनाइने चाड हो यो । भुवा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।