शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

बाजुरालगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा भुवा पर्व मनाइँदै

काठमाडौं। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ।
बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ।
दसैँ र तिहारपछिको दोस्रो ठुलो पर्वका रूपमा मनाइने भुवा शुक्रबार अर्थात् आजबाट सुरु भएको हो ।
भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने, लाखे नाच नाच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन हरेको छ । बाजुरा सदरमुकाम मार्तडीमा बिहानै सबै टोल–टोलबाट आगोका राँकाहरू बालेर स्थानीय एकै ठाउँमा जम्मा भई भुवा चाली खेल्ने प्रचलन अनुसार बिहानबाटै चाली खेल्न सुरु गरिएको हो । जिल्लाका अरू क्षेत्रमा पनि राँके नाच र भस्व खेलिएको छ ।बाजुराको सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको भुवा पर्व महाभारतको युद्धमा पाण्डव र कौरवबीचको गाथामा आधारित छ । यस पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गर्छन् । किम्बदन्ती अनुसार पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ ।भुवा पर्व पुसेऔंसीका दिनबाट सुरु भई ३ देखि ५ दिनसम्म मनाइन्छ । बाजुरेलीले भने यस पर्वलाई दसैँ तिहारपछिको दोस्रो पर्वका रूपमा मनाउँछन् । विशेष महत्त्वका साथ मनाइने भुवा आफन्तसँगको भेटघाट, आपसी सद्भाव, रमाइलो साटासाट गर्ने विशेष मौका पनि हो । बाजुरामा मात्र नभई सुदूरपश्चिमका अछाम र बझाङमा पनि उत्तिकै महत्त्वका साथ मनाइने चाड हो यो । भुवा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x