डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा
अमेरिकाले डाइभरसिटी भिसा अर्थात डीभी कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले ट्रम्प प्रशासनले डाइभरसिटी भिसा लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य सार्वजनिक भएपछि यो कदम चालिएको बताइएको छ । प्रहरीले धेरै दिनदेखि खोजिरहेका ब्राउन विश्वविद्यालयमा गोली चलाउने ती व्यक्ति अहिले मृत अवस्थामा भेटिएका छन् । गोली हान्ने क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको जनाइएको छ ।
सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ । यसमा प्राप्तकर्ताहरूलाई ‘लट्री’ प्रक्रियाबाट छनोट गरिन्छ । प्रत्येक वर्ष करोडौं व्यक्तिले यस कार्यक्रममार्फत भिसाका लागि प्रतिस्पर्धा गर्छन् । अमेरिकी संसद्ले बनाएको कानुनअनुसार लागु गरिएको यो कार्यक्रम नोएमले कुन कानुनी आधारमा स्थगित गर्न सक्छिन् भन्ने विषय भने स्पष्ट छैन ।
लट्रीमार्फत जारी हुने अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालयले व्यवस्थापन गर्ने भए पनि अमेरिकामा पहिल्यै रहेका आवेदकहरूको सानो संख्याका लागि गृह सुरक्षा विभाग अन्तर्गतको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजले प्रक्रिया गर्छ ।
यो कार्यक्रमले सुरक्षा जोखिम निम्त्याउन सक्ने बताउदै राष्ट्रपति ट्रम्प डाइभरसिटी भिसा लट्री कार्यक्रमको लामो समयदेखि आलोचक रहँदै आएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE