आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

वीरगञ्जमा कर्फ्यू आज दिउँसो एक बजेसम्मका लागि थप

पर्साको वीरगञ्जमा कर्फ्यू आज दिउँसो एक बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा हिजो बेलुकी ६ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू लगाएकोमा त्यसलाई थप गरी आज दिउँसो एक बजे पुर्याएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनभयो ।

यसअघि हिजो दिउँसो १ बजेदेखि लगाइएको निषेधाज्ञामा पनि विरोध प्रदर्शन भएपछि प्रशासनले बेलुकादेखि कर्फ्यू लगाएको हो । प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । संघीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा संघसंस्थाले पनि सामाजिक सद्भाव विथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् ।

गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवम् सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । मन्त्रालयले शान्ति सुरक्षा एवम् धार्मिक सहिष्णुता कायम गर्न आवश्यक संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।

यस्तै मधेशी, थारु र मुस्लिम आयोगले समाजिक सद्भाव विथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । ती आयोगले विज्ञप्ति निकालेरै सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न आग्रह गरेका हुन् । जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिकमा विशेष आग्रह गरेको छ । प्रशासनले निकालेको विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x