सोमवार, पुस २८, २०८२
Monday, January 12, 2026

हस्ताक्षर गरेभन्दा ५ सय प्रतिनिधि थपिने महामन्त्री शर्माकाे भनाइ

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरिएको स्पष्ट पारेका छन्।

विशेष महाधिवेशनको तयारी अवलोकन गर्न काठमाडौँको भृकुटीमण्डप पुगेका महामन्त्री शर्माले आफूहरू पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यसहित अघि बढिरहेको बताएका हुन्।

नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मासँगै विशेष महाधिवेशन स्थलमा पुगेका महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष महाधिवेशन पार्टीभित्रको समस्या समाधान र संगठन सुदृढीकरणका लागि आवश्यक भएको बताए। उनका अनुसार विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर होइन, अझ बलियो बनाउनेछ।

संस्थापन पक्षले आयोजना गरेको काउन्टर भेलाका विषयमा पत्रकारको प्रश्नमा महामन्त्री शर्माले भने, ‘विशेष महाधिवेशनकै दिन अरू कुनै गतिविधि हुन नपाउने भन्ने त हुँदैन। पार्टीभित्र फरक मत राख्ने अधिकार सबैलाई छ।’ उनले असहमतिको अभिव्यक्ति लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गरे।

महाधिवेशन आह्वानका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको विषयमा बोल्दै शर्माले केहीले नाम फिर्ता लिए पनि थपिनेको संख्या उल्लेख्य रहेको दाबी गरे। ‘५४ प्रतिशत हस्ताक्षरमध्ये करिब २३–२४ जनाले नाम फिर्ता लिनुभएको छ। तर हिजो–अस्ति बाहेक मात्रै २५० जना साथीहरू थपिनुभएको छ,’ उनले भने। साथै, आगामी दिनमा करिब पाँच सयजना महाधिवेशन प्रतिनिधि थपिने दाबी पनि उनले गरे।

महामन्त्री शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने हल्लालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। ‘विशेष महाधिवेशनले पार्टी विभाजन गर्छ भने त्यो व्यवस्था नै विधानमा हुने थिएन,’ उनले भने, ‘कांग्रेस विभाजन हुँदैन। सबैलाई मिलाउने प्रयास भइरहेको छ।’

उनका अनुसार विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकजुट भएर आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुनेछ। ‘२१ फागुनको चुनावमा कांग्रेस एक भएर जान्छ। १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको एकल उम्मेदवार हुनेछ,’ शर्माले विश्वास व्यक्त गरे।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ कि गर्दैन भन्ने पत्रकारको प्रश्नमा उनले महाधिवेशनको मुख्य भूमिका कार्यविधि निर्माणमा केन्द्रित हुने स्पष्ट पारे। ‘विशेष महाधिवेशनले कार्यविधि बनाउँछ। त्यसले नै आगामी प्रक्रिया तय गर्छ,’ उनले भने।

महाधिवेशन तयारी अवलोकनका क्रममा महामन्त्री शर्मासँगै पुगेका कांग्रेस नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माले पनि पार्टी विभाजनको सम्भावना नरहेको बताएका छन्। उनीहरूले विशेष महाधिवेशनलाई पार्टीलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x