ग्रीनल्यान्डको मुद्दामा ट्रम्प नरम, युरोपमाथि ‘ट्यारिफ’ लगाउने निर्णय रद्द
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डका विषयमा युरोपेली देशहरूमाथि लगाउने भनिएको महसुल (ट्यारिफ)को धम्कीबाट पछि हटेका छन् । ट्रम्पले अब डेनमार्कलगायत युरोपेली देशमाथि ग्रीनल्यान्डका विषयमा कुनै ट्यारिफ नलगाउने स्पष्ट पारेका छन् ।
ट्रम्पले यसअघि ग्रीनल्यान्डसँग सम्बन्धित आफ्ना माग पूरा नभए युरोपमाथि आर्थिक दबाब सिर्जना गर्ने संकेत गरेका थिए । तर, हाल आफ्नो अडान बदल्दै उनले त्यस्तो कुनै कदम नचाल्ने बताएका हुन् । ट्रम्पले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका छन् ।
स्वीट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा यसअघि उनले ग्रीनल्यान्ड कब्जा गर्न सैन्यशक्ति प्रयोगको विषयबाट पछि हटेको बताएका थिए । यद्यपि, ट्रम्पले आफ्नो उद्देश्य अझै ग्रीनल्यान्ड हासिल गर्नु नै रहेको स्पष्ट पारेका छन् ।
आफ्नो सम्बोधनका क्रममा ट्रम्पले युरोपेली देश र नेटोमाथि पनि तिखो प्रहार गरे । उनले दोस्रो विश्वयुद्धको समयमा र त्यसपछि पनि अमेरिकाले युरोपलाई बचाएको जिकिर गरे ।
ग्रीनल्यान्डका बारेमा विवादास्पद बयान दिँदै उनले त्यो ठाउँ चिसो र उचित स्थानमा अवस्थित नभएको बताए । तैपनि, अमेरिकाको राष्ट्रिय सुरक्षाका निम्ति ग्रीनल्यान्ड अत्यन्तै महत्त्वपूर्ण भएको उनले उल्लेख गरे ।
भविष्यमा आर्कटिक क्षेत्र रणनीतिक रूपमा निकै महत्त्वपूर्ण हुने भएकाले ग्रीनल्यान्डमा अमेरिकाको नियन्त्रण हुनुपर्ने उनको मान्यता छ ।
ट्रम्पले आफूले चाहेमा शक्तिको बलमा ग्रीनल्यान्ड हासिल गर्न सक्ने पनि बताए ।
उनले अमेरिकाको विस्तारवादी मनसायमा नेटोले बाधा पुर्याउन नहुने चेतावनी पनि दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE