डोल्पामा हिमपातले हवाई, सडक र सञ्चार बन्द
काठमाडौं। जिल्लामा गएरातिदेखि अविरल वर्षा र त्यसपछि सुरू भएको भीषण हिमपातले जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। यसवर्ष परेको यो दोस्रो हिमपातले जिल्लाभरि नै जनजीवन अस्तव्यस्त बनाएको छ।
उपल्लो डोल्पाका शे(फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका क्षेत्रसँगै तल्लो डोल्पाको जगदुल्ला, मुड्केचुला तथा मध्य डोल्पाको काइके गाउँपालिका, ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका उच्च भू(भागहरू बाक्लो हिउँले सेताम्मे बनेका छन्। जिल्ला सदरमुकाम दुनैस्थित त्रिपुराकोट बजार क्षेत्रमा समेत हिमपात जारी रहँदा हिउँ जम्ने क्रम सुरू भएको छ। लगातारको हिमपातका कारण जिल्लाको एकमात्र चालु नाका जुफाल विमानस्थल पूर्ण रूपमा बन्द भएको छ भने प्रमुख सडक मार्गहरू अवरुद्ध हुँदा सवारी आवागमन समेत अवरुद्ध भएका छन् । जुम्ला(डोल्पा सीमानाको मौरलेक क्षेत्रमा बाग्लो हिउँ जमेसँगै सीमा नाका पूर्णरूपमा बन्द भएको जगदुल्ला गाउँपालिकाले जनाएको छ।
हिमपातसँगै अत्यधिक चिसो बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। लामो दूरी हिँड्नुपर्ने बाध्यता, खाद्यान्न ढुवानीमा अवरोध र बिरामी तथा आपत्कालीन सेवामा समेत समस्या देखिन थालेको छ। यसैबीच, निरन्तर हिमपात र वर्षाका कारण नेपाल टेलिकमका डोल्पा जिल्लास्थित केही टावरहरू बन्द हुँदा सञ्चार सेवा पनि अवरुद्ध भएको छ। मुड्केचुला गाउँपालिकाका दुई टावर, जगदुल्ला डाँडास्थित टावर तथा त्रिपुरासुन्दरी नगरपालिकाको दापुस्थित र करेलीकाडा नजिकको टावर विद्युत् आपूर्ति नहुँदा सञ्चालन बाहिर रहेका छन्। त्यसैगरी छार्का, घुनासपास, कुगाउ, मुकोट निजाल सर्मि पहाडास्थित टावर विधुत् अभावले सिस्टम डाउन हुँदा सञ्चार अवरुद्ध छ । तर जगदुल्लाको रिमिस्थित टावर र त्रिपुरासुन्दरीको ल्हास्थित टावर भने सञ्चालनमा छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE