३० आश्विन २०८३, शुक्रबार

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको आयोजना बनाउने गगन थापाको घोषणा

0
Shares


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् ।सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने बताएका हुन् ।

उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको उनको दाबी छ । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफ्नो कार्यकालमा देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता औँल्याएका छन् । आफ्नै कार्यकालमा स्वास्थ्य बीमा ऐन बनेको र कार्यक्रम सुरु भएको भए पनि पछिल्लो समय यो कार्यक्रम अस्तव्यस्त बनेकोमा सभापति चिन्ता व्यक्त गरे ।स्वास्थ्य मन्त्रालयमा रहँदा प्रदीप पौडेलले सुधारको प्रयास गरे पनि अहिले कार्यक्रम बन्द नै हुने हो कि भन्ने अवस्थामा पुगेको भन्दै उनले यसलाई ट्र्याकमा ल्याउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

कांग्रेसको सङ्कल्प पत्रमा स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने विस्तृत योजना समेटिने जानकारी दिँदै उनले जिम्मेवारी पाएको खण्डमा यसलाई राष्ट्रिय गौरवको आयोजना बनाउने प्रतिबद्धता जनाए ।