काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चौतर्फी विकासका लागि भौतिक पूर्वाधारको निर्माण, सामाजिक अन्धविश्वासको अन्त्य र सुदृढ राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिएका छन् ।
झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टीले सुरु गरेका विकासका आयोजनाहरूले जनताको जीवनस्तरमा परिवर्तन ल्याएको दाबी गरे ।समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले आफू २६–२७ सालदेखि नै यस क्षेत्रको विकासमा जोडिएको स्मरण गर्दै झापाको परिवर्तन आफ्नै आँखाले देखेको बताए ।
उनले विगतमा उपहास गरिएका हुलाकी राजमार्ग र ठूला पुलहरू आज यथार्थमा परिणत भएको बताए ।विकासका कामहरू ठेकेदार वा इन्जिनियरको त्रुटिका कारण केही ठाउँमा रोकिएको भएपनि ती सबै समस्या समाधान गरिने उनको भनाइ छ । उनले गरिबी र पछौटेपनलाई संस्कृति मानेर बस्न नहुने भन्दै गुइँठा र दाउराको सट्टा बिजुली र स्वदेशी ग्यासको प्रयोग गर्नुपर्ने बताए ।उनले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे । समाजमा रहेको बोक्सी प्रथा जस्ता कुप्रथालाई वैज्ञानिक चेतनाले चिर्नुपर्ने उनले बताए। उनले शिक्षा नै विकासको आधार भएकोले हरेक जातजातिका बालबालिकालाई उच्च शिक्षासम्म पुर्याउन अभिभावकहरूलाई आग्रह गरे ।
राजनीतिक रूपमा उनले एमालेको नेतृत्वमा मात्रै नेपालको अन्तर्राष्ट्रिय साख जोगिने र विकासले गति लिने दाबी गरे । उनले भ्रमको राजनीति गर्नेहरूबाट सचेत रहन र जातिवाद भन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
