मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

नेपाल–कतार सहकार्यलाई दिगो र लाभदायक बनाउनुपर्छः परराष्ट्रमन्त्री शर्मा

काठमाडौं। परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको सहकार्यलाई दिगो, दीर्घकालीन र पारस्परिक रूपमा लाभदायक बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार मन्त्री शर्मासँग कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम।ए। अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भेटवार्तामा उनले यस्तो बताएका हुन् । उनले आजको विश्व परिवेशमा एक्लै अघि बढेर लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गर्दै आपसी सहकार्य अपरिहार्य रहेको बताए । उनले निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन भएको बताए । मन्त्री शर्माले कतारी निजि क्षेत्रका प्रतिनिधिहरुलाई नेपालमा लगानीको लागि पनि आग्रह गरे । उनले कतारको विकास अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गर्दै दुवै देशका लागि लाभदायक र दीर्घकालीन सहकार्यका क्षेत्र पहिचान गरी संयुक्त रूपमा लगानी गर्न सकिने बताए ।

उनले भने, ‘आजको संसारमा, यदि हामी सँगै अघि बढेनौँ भने, एक्लै हिँडेर धेरै टाढा पुग्न सकिँदैन । निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन हो । हामीले यसलाई सही रूपमा अघि बढ्न दिएनौँ भने, देश विकास गर्न सकिँदैन । हामीले गर्ने प्रत्येक गतिविधि दिगो र बलियो आधारमा टेकेर अघि बढ्नुपर्छ, ताकिपछि यसले समस्या नल्याओस् । हामीसँग एक पटक बनाएको संरचना भत्काएर फेरि नयाँ बनाउने विलासिता छैन । हामी कतारको विकास अनुभवबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । साथै अब, कुन–कुन क्षेत्रहरूमा सहकार्य गर्न सकिन्छ भनेर खोजौँ, त्यस्ता क्षेत्रहरू खोजौँ, जुन पारस्परिक रूपमा लाभदायक र दीर्घकालीन हुन् । ती क्षेत्रहरू जनशक्ति र स्रोत दुवैको हिसाबले दिगो हुनुपर्छ र दुवै पक्षका उद्देश्य पूरा गर्न सक्ने खालका हुनुपर्छ । हामी यस्ता दिगो क्षेत्रहरू अवश्य पहिचान गरेर ती क्षेत्रमासँगै अघि बढ्न सक्छौँ ।’

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम।ए। अलोबैदेलीले नेपाल–कतार सहकार्यलाई सार्वजनिक–निजी साझेदारी पीपीपी मोडेलमार्फत अघि बढाउन सकिने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा कतारको अनुभव, रणनीतिक विश्व साझेदारहरू र उपलब्ध अवसरहरूलाई गहिरो रूपमा बुझेर सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए । अलोबैदेलीले राजनीति र निजी क्षेत्रलाई उत्प्रेरकका रूपमा प्रयोग गर्दै दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउन सकिने उल्लेख गरे । साथै, दुवै देशका चेम्बर अफ कमर्स तथा व्यापार परिषद्लाई सक्रिय बनाइने जानकारी दिए । कतार चेम्बर विश्वव्यापी रूपमा बलियो नेटवर्किङ प्लेटफर्म रहेको उल्लेख गर्दै उनले हरेक वर्ष ३५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलहरू कतार आउने जानकारी दिए । अलोबैदेलीका अनुसार कतार अहिले ऊर्जा, पर्यटन र प्रविधिजस्ता नयाँ क्षेत्रमा पनि लगानी गर्न ईच्छुक रहेको बताए ।

उनले भने, ‘हामी सरकारहरूसँग सहकार्य गरेर पीपीपी संरचना निर्माण गर्न पनि सक्छौँ । अन्तर्राष्ट्रिय बजारमा कतारको अनुभव—जस्तै रणनीतिक विश्व साझेदारहरू, त्यहाँ उपलब्ध अवसरहरू यी सबैलाई हामीले गहिरो रूपमा बुझ्न आवश्यक छ । नेपाललाई हामीबाट के चाहिन्छ र हामीलाई नेपालबाट के चाहिन्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ । हामी यसै दिशामा काम गरिरहेका छौँ र अब यसले ठोस नतिजा दिन थाल्ने विश्वास छ । विशेषगरी, राजनीति र निजी क्षेत्रलाई उत्प्रेरकका रूपमा प्रयोग गर्दै हामीले दुवै देशबीचको सम्बन्ध कसरी अझ सुदृढ बनाउन सक्छौँ । यसै सन्दर्भमा, हामी दुवै देशका चेम्बर अफ कमर्सहरू, विशेष गरी व्यापार परिषद्लाई अझ सक्रिय बनाउनेछौँ । कतार चेम्बर विश्वव्यापी रूपमा अत्यन्तै बलियो नेटवर्किङ प्लेटफर्म हो । कतार अहिले झन् आकर्षक गन्तव्य बन्दै गइरहेको छ, र कतार चेम्बरमार्फत हरेक वर्ष ३५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलहरू आउँछन् । उनीहरु आफ्ना अवसरहरू प्रस्तुत गर्न कतार आउँछन्, केही नयाँ अवसरहरू खोज्न आउँछन्, र कतारले विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । अहिले लगानीको क्षेत्र केवल ऊर्जामा मात्र सिमित छैन, पर्यटन एउटा महत्वपूर्ण अतिरिक्त स्तम्भका रूपमा विकास हुँदै गएको छ । प्रविधि पनि तिब्र रूपमा उदाउँदै गरेको अर्को प्रमुख क्षेत्र बनेको छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नै अर्थमन्त्री रामेश्वर खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलसँग पनि भेटवार्ता गरेको छ । भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा छलफल भएको थियो । सो अवसरमा कतारी प्रतिनिधि मण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताएका छन् । उक्त अवसरमा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x