बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री रहमानद्वारा नेपालमा हुन लागेको चुनाव सफलताको कामना
काठमाडौं । बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावलाई सफलताको कामना गरेका छन् ।
बङ्गलादेशका प्रधानमन्त्री र नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माबीच हिजो बेलुका ढाकामा भएको भेटमा रहमानले चुनाव सफलताको शुभकामना व्यक्त गरेको ढाकामा रहेको नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्रीमा नियुक्त भएकामा रहमानलाई बधाई ज्ञापनसहित प्रधानमन्त्री सुशीला कार्कीले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए।
दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले चुनाव सफलतापूर्वक गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बङ्गलादेश सरकारको सराहना गर्दै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल प्राप्त गरेकामा बधाई ज्ञापन गरे।
नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारेमा छलफल गरेका थिए ।
त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए । अस्ति सोमवार ढाका प्रस्थान गरेका परराष्ट्रमन्त्री शर्मा भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE