३० आश्विन २०८३, शुक्रबार

आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न ट्रम्पले इरानलाइ दिए १५ दिनको अल्टिमेटम, अन्यथा इरानले खराब परिणाम भोग्नुपर्ने चेतावनी 

0
Shares


काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन् ।

वासिङ्टन डिसीमा आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा ठोस सम्झौता गर्न अल्टिमेटम दिएका हुन् ।

अन्यथा इरानले अत्यन्त खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

कुटनीतिक तवरबाटै विवाद समाधानका लागि अमेरिकाले इरानसँग स्वीट्जरल्याण्डको जेनेभामा वार्ता गरेको थियो । वार्ता सकारात्मक भएको भनेर इरानले भने पनि अमेरिकाले भने कुनै पनि विषयमा ठोस सहमति नभएको बताएको छ । इरानले सम्झौताका लागि अर्को मस्यौदा तयार गर्न १५ दिनको समय मागेको छ ।

जेनेभाको वार्ता अघि इरान र अमेरिकाबीच ओमानको मस्कटमा छलफल भएको थियो । वासिङ्टनले इरानले युरेनियम समृद्धीकरण पूर्ण रूपमा त्याग्नुपर्ने सर्त वासिङ्टनको छ । साथै लामो दूरीका ब्यालिस्टिक मिसाइल कार्यक्रम रोक्नुपर्ने र मध्यपूर्वका लडाकू समूहहरूलाई समर्थन नगर्न दबाब दिएको छ । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ ।

वार्ता र छलफलका बाबजुद कुनै पनि सहमति नहुँदा अमरिकाले इरानको छेउछाउ सैन्य उपस्थिति तीव्र गतिमा वृद्धि गरेको छ । अमेरिकी सेना इरानमा हमलाका लागि तम्तयार भएर बसेको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।