रौतहट अपडेटः ६ जना घाइते, दुई जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच भएको ढुंगामुढा प्रकरणमा ६ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।
घाइते हुनेमा शिवजी ठाकुरका १४ वर्षीय छोरा निर्मल कुमार ठाकुर रहेका छन्। उनको टाउकोमा चोट लागेको छ। त्यसैगरी ३२ वर्षीय अलि महम्दको टाउको र दाहिने हातको औंलामा चोट लागेको छ भने ४० वर्षीय शेख जिकाउलाको टाउको र बाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ। ६५ वर्षीया जरिना खातुनको अनुहारमा चोट लागेको छ।
यसैगरी शेख अब्दुल सतारका १७ वर्षीय छोरा शेख हैदर अलीको टाउकोमा चोट लागेको छ भने ४२ वर्षीय अब्दुल सतारको दाहिने खुट्टामा चोट लागेको छ। सबै घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यता, स्थिति थप तनावग्रस्त बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE