गौर तनावप्रति माधवको चिन्ता- हिन्दु वा मुस्लिम कोही जोखिममा पर्नुहुन्न
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधवकुमार नेपालले गौरमा भएको पछिल्लो तनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल गरेका छन् ।
शनिबार पत्रकारसँग कुराकानी गर्दै सहसंयोजक नेपालले हिन्दु र मुस्लिम दुवै समुदाय एक अर्काका परिपूरक रहेको टिप्पणी गर्दै संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका हुन् ।‘हिन्दु होस् वा मुस्लिम, जुनसुकै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन,’ नेपालले भने, ‘यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन । म दुवै समुदायलाई संयमता राख्न आग्रह गर्न चाहन्छु ।’नेपाल रौतहट(१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि छन् । सोही क्षेत्रबाट उनी लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व पनि गर्दै आएका नेता हुन् ।सहसंयोजक नेपालले सदियौँदेखि मिलेर बसेका दुवै समुदाय अझ पनि मिलेरै जानुपर्ने बताए ।
‘दुवै समुदायले एक(अर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्नु नै अहिलेको आवश्यकता हो,’ उनले भने ।अहिले देखिएको समस्याको समाधान पनि आपसी संवादबाट मात्रै सम्भव हुने बताउँदै उनले कोही पनि पक्ष उत्तेजनामा आएर सद्भाव खलबल्याउन नहुने पनि बताए ।यस्तै स्थिति सामान्यीकरण गर्न सरकारसँग पनि अपिल गरे । त्यसका लागि आफूले गृहमन्त्रीसँग कुराकानी गरेर तत्कालका लागि कर्फ्यु लगाउन सुझाव दिएको बताए । उनले भने, ‘मैले गृहमन्त्रीजीसँग कुराकानी गरेको छु । जनकपुरका डीआईजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग पनि निरन्तर समन्वय गरिराखेको छु । कसैको घरमा क्षति नपुगोस्, कसैको इज्जत, प्रतिष्ठामा आँच नआओस् भन्नेतर्फ सचेत गराएको छु ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE