सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

के भन्छन् रास्वपा छोडेका नेताहरु ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले चटकदार अनुहारभन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदातालाई आग्रह गरे।देश हाल गम्भीर अवस्थामा पुगेको भन्दै उनीहरूले सामाजिक सञ्जालको भ्रमबाट बाहिर निस्केर सोचविचार गर्न अपिल गरे। अध्ययन–विश्लेषण गरेर मात्र मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन आह्वान गरे।
वागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा छाडेका दिनेश हुमागाईंले भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशबोधका आधारमा मत दिन आग्रह गरे। चुपचाप नभई धेरै अध्ययन गरेर मत हाल्न उनले सुझाव दिए। देशले निकास पाउने र स्थायी सरकार बन्ने गरी मत दिनुपर्नेमा उनले जोड दिए।
हुमागाईंले रास्वपा आफ्नो सिद्धान्तबाट विचलित भएको आरोप लगाए। समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया सही नभएको र नेतृत्वमा जवाफदेहिता अभाव रहेको कारण आफूले पार्टी छाडेको बताए। नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोलनमाथि नै धोका हुन लागेको आरोप पनि उनले लगाए।
उनले भने, ‘फागुन २१ गतेको निर्वाचनमा चटकदारलाई मत हाल्ने होइन, राजनीतिक व्यक्ति, देश बुझेको व्यक्ति र समाज बुझेको व्यक्ति तथा पार्टी छान्नुहोस्। चुपचाप फलानो छाप भन्ने होइन, धेरै अध्ययन गरेर मत हाल्नुस्। दुईचार दिन सोचेर पनि हुन्छ। तर देशले निकास पाउनुपर्छ, स्थायी सरकार बन्नुपर्छ।’
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए। ‘थितिको थालनी र वेथितिको अन्त्य’ भन्ने नारासहित स्थापना भएको पार्टी उल्टो बाटोतर्फ गएको दाबी गरे। उम्मेदवारी छनोट प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिए पनि व्यवहारमा लागू नभएको उनले बताए।
पार्टी सदस्यलाई ‘स्क्याम’ गरिएको दाबी गर्दै उनले आन्तरिक लोकतन्त्रमा विश्वासघात भएको आरोप लगाए। यस विषयमा पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएकाले पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ।
उनले भने, ‘थितिको थालनी, वेथितिको अन्त्य भनेको साढे तीन वर्षमै उल्टो भयो। थितिको अन्त्य र चरम वेथितिको थालनी रास्वपामा देखियो। पार्टी नेतृत्वले आफू अनुकूलको संगठन बनाउन थाल्यो। सम्पूर्ण पार्टी सदस्यलाई स्क्याम गरियो। संगठनको आधारमा प्राइमरी इलेक्सन हुन्छ भनियो, तर चुनावको मुखमा आएर नेतृत्व छान्ने अधिकार संगठनबाट खोसियो। सम्पूर्ण पार्टी स्क्याममा परेको छ।’

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति रहिसकेकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताइन्। बाहिर पारदर्शिताको कुरा गरिए पनि व्यवहार उल्टो देखिएको भन्दै दैनिक रूपमा पार्टी छाड्नेको संख्या बढिरहेको उनले दाबी गरिन्। ‘जान्नेलाई छान्ने’ पार्टीको नारा उल्टो भएको भन्दै आफूले पार्टी छाडेको बताइन्।उनले भनिन्, ‘पार्टीले पारदर्शिताको कुरा गर्थ्यो, तर भित्र अपारदर्शिता धेरै देखियो। त्यसैले रास्वपामा लागेका साथीहरू दैनिक रूपमा पार्टी छाड्दै छन्।’
रास्वपा त्यागेका प्रणय र ममता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् भने दिनेश हुमागाईं हालसम्म कुनै दलमा प्रवेश गरेका छैनन्।
उनीहरूले मतदातालाई भावनात्मक लहर र आकर्षक नाराभन्दा दीर्घकालीन स्थायित्व, नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रलाई आधार मानेर निर्णय लिन आग्रह गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x