बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

पोर्चुगलमा नक्कली छाप र हस्ताक्षर प्रकरण : २ हजारभन्दा बढी नेपाली संकटमा

काठमाडौं । नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्रमा छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी दिइरहेका छन् ।

यसरी उजुरी दिनेहरुले नेपाल प्रहरीबाट जारी भएको आफ्नो प्रमाणपत्र सक्कली भएपनि त्यसमा प्रयोग भएको दुई देशको छाप र सरकारी अधिकारीको हस्ताक्षर नक्कली भएको दावी गरेका छन् ।

उजुरीमा कतिपययले आफुले प्रहरी प्रमाणपत्र प्रमाणीकरणका लागि काम लगाएको व्यक्तिको नाम नै किटान गरेर उजुरी दिएका छन् । भारतको दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर भएका प्रहरी रिपोर्टहरु नक्कली भएका हुन् ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार इमेलबाट र कार्यालयमै उपस्थित भएर उजुरी गर्ने नेपालीहरुको संख्या दिनहुँ बढ्दो छ । ‘अहिले राजदूतावासको मुख्य काम यही उजुरी लिनेजस्तो भएको छ, सयौं नेपालीहरुको सक्कली प्रहरी रिपोर्टमा नक्कली छाप र हस्ताक्षर प्रयोग भएको रहेछ’, राजदूत पौडेल भन्छन्, ‘लिखित रुपमै हामीले एक हजार जत्ति उजुरी पाएका छौं । दूतावासको इमेलमा त्यो भन्दा बढी उजुरी छ ।’

अहिले उजुरीकर्ताहरुको विवरण संकलन गर्ने काम भइरहेको राजदूतावासले जनाएको छ । प्रहरी रिपोर्ट सक्कली भएपनि त्यसको प्रमाणीकरणका लागि यहाँ राजदूतावास स्थापना नहुँदा भारतको दिल्ली पठाउनेहरुको प्रमाणीकरण भने नक्कली भएको पाइएको हो ।

हालसम्म जम्मा भएको उजुरीकर्ताहरुको विवरण संकलन गरेर नेपाली राजदूतावासले यहाँको सरकारी पक्षलाई उनीहरु दोश्रो व्यक्तिबाट ठगिएको र प्रहरी रिपोर्ट सक्कली नै रहेको जानकारी गराएको छ । ‘रिपोर्टमा प्रयोग भएको दुई दूतावासको छाप र हस्ताक्षर नक्कली भएपनि नेपाल प्रहरीले जारी गरेको रिपोर्ट सक्कली भएकाले हामीले आधिकारिक रुपमा यहाँका सरकारी निकायलाई जानकारी गराएका छौं,’ राजदूत पौडेलले भने ।

पोर्चुगलमा रहेका आप्रवासीलाई कानुनी हैसियत दिने संस्था ‘एकीकरण, आप्रवासन तथा शरणार्थी निकाय ९एआईएमए० ले अस्थायी अवास अनुमति पत्र (टिआरसी) का लागि आवेदन दिएका नेपालीहरुको कागजपत्र छानबिन गर्दा प्रहरी रिपोर्ट नक्कली भेटेको हो ।

यहाँको उक्त अधिकारसम्पन्न निकायले प्रहरी रिपोर्ट नक्कली भन्दै उनीहरुलाई देशै छाड्न चेतावनी दिइरहेको छ ।

नक्कली छाप र हस्ताक्षर भएको सक्कली प्रहरी रिपोर्ट यहाँका सरकारी पक्षमा बुझाउदा सरकारी कागजपत्र दुरुपयोग र किर्ते गरेको अभियोग समेत लागेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार नक्कली पुलिस रिपोर्ट बझाएको भन्दै सयौंलाई यहाँका आप्रवासन हेर्ने निकायले इमेल मार्फत् सरकारी कागजपत्र किर्तेको मुद्दा लगाइएको समेत खबर पठाएका छन् ।

एक पीडितका अनुसार यसरी भएको नक्कली ‘स्ट्याम्प’ प्रकरणले पोर्चुगलमा तीन हजार भन्दा बढी नेपाली नागरिक कानुनी समस्यामा परेका छन् ।

हाल लिस्वनमा रहेका सिन्धुपाल्चोकका दीपक नेपाल आफू समेत यसको मारमा परेको बताउँछन् । उनी आफूहरुको अस्थायी आवास अनुमति प्रक्रिया समेत रोकिएको र देशनिकाला तथा जेल सजायको त्रास बढेको बताउँछन् ।

तीन वर्षदेखि पोर्चुगलमा रहेका उनी अहिले टिआरसी आउने वित्तिकै नेपाल जाने तयारीमा रहेकोमा कानूनी कारबाहीको इमेल आएपछि समस्यामा छन् । ‘मसँग मात्रै १५ सय जना भन्दा बढी सम्पर्कमा हुनुहुन्छ, हामी १५ यस जना भन्दा बढीले ह्वाट्सएप ग्रुप बनाएर कसरी समाधान खोज्ने भनेर सामुहिक रुपमा छलफल गरिरहेका छौं,’ नेपालले भने, ‘हामीलाई यहाँ रहेको नेपाली संघसंस्था र नेपाल सरकार तथा राजदूतावासको सहयोगको खाँचो छ, हामी संगठित अपराधको शिकार भयौं ।’

उनीजस्ता थुप्रै नेपालीहरु लिस्वनस्थित नेपाली राजदूतावासमा आफूहरुले कुनै कागजपत्र किर्ते नगरेको बरु आफू ठगीमा परेको भन्दै जाने गरेका छन् । उनीहरुले नेपाल सरकार र दूतावाससँग सहजीकरण तथा मानवीय आधारमा पुनर्विचारको माग गर्दै आएका छन् ।

बिहीवार नेपाली राजदूतावास पुगेका पीडितहरुले यहाँको सरकारी निकाय तथा आप्रवासन हेर्ने निकायलाई यस बारेमा सत्य जानकारी गराउन ढिला गरे आफूहरु सिधै यहाँको राष्ट्रपतिसमक्ष अनुरोध गर्न जाने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x