समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
काठमाडौं ।सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्बभन्दा बढी रकम जम्मा भएको छ । फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको हो ।
विसं २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक सुरुआत भएको थियो । योगदानकर्ताबाट रकम संकलन भने २०७६ साउन १ गतेदेखि सुरु गरिएको हो । सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ । यसमध्ये ११ प्रतिशत श्रमिकले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने व्यवस्था छ । त्यसबाहेक योगदानकर्ताले आफ्नो इच्छाअनुसार थप योगदान पनि गर्न सक्छन् । प्रत्येक महिनाको योगदान अर्को महिनाको १५ गतेभित्र कोषमा जम्मा गरिसक्नुपर्ने हुन्छ ।
कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषको रकम सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । उनका अनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चरलगायतका क्षेत्रमा लगानी गरेको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ ।
प्रवक्ता अधिकारीले भने, “सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको छ । कोषमा जम्मा हुने रकमलाई सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चरलगायतका क्षेत्रमा लगानी गरिएको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी गरिएको छ ।”
सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदानकर्तालाई विभिन्न क्षेत्रअनुसार वर्गीकरण गरिएको छ । औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र निर्धारण गरिएको छ । कोषमा आवद्ध योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाबाट लाभ लिन सक्ने व्यवस्था छ ।
हाल कोषमा आवद्ध भएका योगदानकर्ताको संख्या २८ लाख २२ हजार ३३३ पुगेको छ । सूचीकृत रोजगारदाताको संख्या २३ हजार ८४ छ । कुल योगदानकर्तामध्ये औपचारिक क्षेत्रका श्रमिक करिब ६ लाख ७९ हजार रहेका छन् भने करिब २२ लाख योगदानकर्ता वैदेशिक रोजगारीमा रहेका छन् ।
अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकको सहभागिता भने न्यून देखिएको छ । अनौपचारिक क्षेत्रबाट ८५४ जना र स्वरोजगार क्षेत्रबाट ८०८ जना मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE