गोदावरीको बस्तीमा पसेको जंगली मृगको प्रहरीद्वारा सकुशल उद्धार
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–३ किटिनीस्थित मानव बस्तीमा फेला परेको एक जंगली मृगलाई प्रहरीले सकुशल उद्धार गरेको छ। स्थानीय मिना सुवालको घरभित्रको कम्पाउण्डमा मंगलबार दिउँसो अचानक मृग पसेको फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बस्तीमा वन्यजन्तु पसेर असुरक्षित हुन सक्ने सूचना पाउनासाथ जिल्ला प्रहरी परिसर ललितपुर मातहतको प्रहरी प्रभाग गोदावरीबाट विशेष टोली घटनास्थल पुगेको थियो। प्रहरी सहायक निरीक्षक (प्रसनि) हिमाल थापा मगरको कमाण्डमा खटिएको उक्त टोलीले बिहान ११ : ५३ बजेको समयमा मृगलाई नियन्त्रणमा लिएको हो।
घरको परिसरभित्र अलमलिएको अवस्थामा रहेको मृगलाई कुनै चोटपटक लाग्न नदिई सावधानीपूर्वक उद्धार गरिएको प्रहरीले जनाएको छ। वन क्षेत्रबाट भड्किएर मृग बस्तीमा आइपुगेको अनुमान गरिएको छ।
उद्धार गरिएको उक्त जंगली मृगलाई आवश्यक संरक्षण र व्यवस्थापनका लागि तत्कालै डिभिजन वन कार्यालय गोदावरीको जिम्मा लगाइएको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE