निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता अपनाएको छ।
निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तिब्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबीच झडप हुनसक्ने र निर्वाचन विथोल्न लागेको केही समूहबाट सडक अवरुद्ध गर्नसक्ने आकलन गरिएको बताए । उनले निर्वाचन बिथोल्ने नाममा रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको जानकारी दिए । यसका लागि मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको बताए । उनले निर्वाचन आयोगलाई पनि स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिए । उनकाअनुसार मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन, लामो बिदा स्थगित गर्न र सेवामा खटिरहन आग्रह गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । झडपका कारण घाइते अस्पताल पुग्दा स्वास्थ्यकर्मी उपलब्ध नभए गम्भीर समस्या पर्नसक्ने उनको भनाई छ । सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, भर्चुअल तालिम तथा आवश्यक औषधि र उपकरणको मौज्दात व्यवस्थापन गरिसकेको उहाँले जानकारी दिनुभयो । रणनीतिक स्थानहरूमा औषधि, लजिस्टिक सामग्री भण्डारण गरिएको र आवश्यक परे आपत्कालीन मेडिकल टिम तथा ¥यापिड रेस्पोन्स टिम पनि परिचालन गरिने उनले बतार्ए । मन्त्रालयकाअनुसार निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा अविरल रूपमा सञ्चालनमा रहनेछ ।
उनले भने, ‘फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन जेन–जीको आन्दोलनपछि सम्पन्न हुँदैछ । त्यसक्रममा विभिन्न ठाउँहरूमा भेला, आमसभा हुने, घरदैलो हुने कार्यक्रमले एकातिर पार्टीका कार्यकर्ताहरुको बीचमा झडप हुने सम्भावना छ भने अर्कोतिर चुनावलाई बिथोल्ने केही राजनीतिक पार्टीहरू पनि छन् । यसले गर्दा हाम्रा सडक वा अन्य बाटोहरूमा अवरोध गर्दिने वा बाटो बिगार्ने वा रुख ढालेर रोक्दिने जस्ता कार्यहरू हुन सक्छन् । ती सबैलाई सम्बोधन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृह मन्त्रालय, प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको छ । हामीहरूले अस्पतालका र अन्य स्वास्थ्य संस्थामा काम गर्ने मानिसहरूलाई सेवा प्रवाहमा असर नपर्ने गरी मात्रै खटाउन आग्रह गरेका छौँ । भोलि झडपका कारणले गर्दा घाइतेहरू अस्पताल जाँदा स्वास्थ्यकर्मी भएनन् भने वा विभिन्न कारणले गर्दा बिरामी अस्पताल जाँदाखेरि स्वास्थ्यकर्मी भएनन् भने समस्या पर्ने हुन्छ । स्वास्थ्यलाई संवेदनशील क्षेत्र मानेर स्वास्थ्यकर्मीहरू सबै बिदामा नबसिदिने, स्वास्थ्य संस्था चलाइरहने र लामो बिदा पनि कसैलै कसैलाई नदिने हामीले भनिसकेका छौं । त्यसैगरी निर्वाचन आयोगलाई पनि हामीले स्वास्थ्यकर्मीलाई अब खटाउनै परेपनि सेवा नरोकिने गरी मात्रै खटाउनुहोला भनेर अनुरोध गरेका छौं । हाम्रो तयारी भनेको स्वास्थ्य संस्थामा कुनै कारणवश घाइतेहरू वा विरामीहरु आए भने तिनीहरूलाई उपचार गर्नका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण दिने, सामानहरूको मौज्दात राख्ने, स्वास्थ्यकर्मीलाई भर्चुअल्ली रूपमा भएपनि तालिम दिने र अन्य काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ । विपद् घण्टी बजाएर आउँदैन । जतिवेला पनि आउन सक्छ भनेर हामीले त्यहीअनुसार पूर्वतयारी गरिरहेका हुन्छौं । त्यही पूर्वतयारीलाई अलिकति परिमार्जन गर्ने काम कुनै विशेष परिस्थितिमा गर्ने गर्छौं । यस निर्वाचनको बेलामा पनि हाम्रा स्वास्थ्य संस्थाहरू बन्द हुँदैनन्, खुल्छन् । हाम्रा एम्बुलेन्स सेवाहरू पनि चल्छन् । त्यसैगरी आवश्यक प¥यो भने आपत्कालीन मेडिकल टिम र ¥यापिड रेस्पोन्स टिम पनि सक्रिय भएर परिचालन हुन्छ । हामीले रणनीतिक स्थानमा चाहिने लजिस्टिकहरू, सरसामानहरू, औषधिहरू पनि भण्डारण गरिसकेका छौं । सकेसम्म स्थानीय प्रशासनले झडप नहुने गरी र सडक तथा बाटोहरू बन्द नहुने गरी व्यवस्था मिलाइदिनका लागि हामीले अनुरोध गरेका छौं । यदि कुनै कारणवश भइहाले भनेपनि स्वास्थ्यकर्मीहरू र स्वास्थ्य संस्थाहरू तयारीको अवस्थामा छन् ।’
प्रवक्ता बुढाथोकीले जुनसुकै बेला पनि आउने भएकोले सोहीअनुसार मन्त्रालय सधैँ तयारी अवस्थामा रहने उल्लेख गरे । उनले विशेष परिस्थितिअनुसार तयारीलाई थोरै परिमार्जन मात्रै गरिने गरेको जानकारी दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE