निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयबाट चौबीसै घण्टा अनुगमन
काठमाडौँ । देशभर जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा अवस्था चुस्त र प्रभावकारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनको सुरक्षा अवस्था जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल र सचिव राजकुमार श्रेष्ठ लगायतका उच्च पदाधिकारीहरूले मन्त्रालयस्थित नियन्त्रण कक्षको निरीक्षण गरेका छन् ।
बिहीबार केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूले कन्ट्रोल रुममा गएर देशभरको निर्वाचन सुरक्षा अवस्थाबारे रिपोर्टिङ लिएको जनाइएको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सञ्चालित नियन्त्रण कक्षबाट देशभरका निकायहरूबाट प्राप्त प्रतिवेदनका आधारमा वस्तुस्थितिबारे जानकारी लिएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन २४ सै घण्टा शान्ति सुरक्षा अनुगमन, नियमन तथा समन्वयका लागि नियन्त्रण कक्ष सञ्चालन भइरहेको छ । एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा गृह निर्वाचन सेल समेत सोही कक्षबाट सञ्चालन भइरहेको छ ।
निर्वाचन सुरक्षाको अवस्था सुदृढ रहेको र मतदानमा नागरिकहरूको उत्साहपूर्ण सहभागिता देखिएको मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री अर्यालले नियन्त्रण कक्षबाट निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सबै कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE