इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने,
काठमाडौं। सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।
प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेत प्रहरीले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको भएपनि घटनाको गाम्भीर्यतालाई मध्यनजर गरेर केन्द्रीय अनुसन्धान ब्यूरोको पनि सहयोग लिइएको जनाइएको छ । अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आइसकेको छ । फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएको र त्यसको रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान टिम बनाएर काम गरिरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।
जिल्लाको अनुसन्धान टिमसँग कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट पोलिग्राफ गर्ने टोलीले पनि काम गरिरहेको छ ।पोस्टमार्टम रिपोर्ट, पोलियाग्राफी, कल डिटेल्स लगायत किशोर र किशोरीबीच भएका सम्पूर्ण विद्युतीय प्रमाणहरू प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ । सो प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कार पछि हत्या भएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE