सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न र नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उत्पादकहरूबाट एकमुष्ट (बल्कमा) औषधि खरिद गर्ने नीति ल्याउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विरोधाभासपूर्ण अवस्थालाई अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै खरिद गर्ने अवधारणा अघि सारेको बताएकी हुन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाल नेपालमा एकातिर सर्वसाधारणलाई औषधि अत्यन्तै महँगो परिरहेको र अर्कोतिर कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले पुरानै मूल्यमा औषधि बेच्नुपर्दा मर्कामा परेको गुनासो आइरहेको बताइन्। मन्त्री गौतमले ‘विन–विन’ (दुवै पक्षलाई फाइदा हुने) समाधान खोजिएको बताइन् ।

भारतमा सञ्चालित ‘प्रधानमन्त्री जनऔषधि कार्यक्रम’मा ८० प्रतिशतसम्म छुटमा औषधि विक्री भइरहेको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै मोडल लागू गर्न सकिने बताइन्। यस विषयमा आफूले निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल गरिसकेको र उनीहरू सकारात्मक रहेको मन्त्री गौतमले जानकारी दिइन्।

उनले भनिन् , ‘हाम्रो मन्त्रालयका धेरै साथीहरू खरिद प्रक्रियाकै कारण निलम्वित हुनुपरेको दुःखद् अवस्था छ । मेडिकल उपकरण र औषधि खरिदमा ठूलो समस्या छ । यसलाई सुधार्न मैले बीमा, औषधि व्यवस्थापन र खरिद प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेको छु । मैले उत्पादक साथीहरूलाई सोधेँ– सरकारले एकमुष्ट रूपमा बल्कमा औषधि किनिदिने हो भने तपाईंहरूको मार्केटिङ ९बजारीकरण० खर्च त लाग्दैन, के तपाईंहरू सस्तोमा दिन सक्नुहुन्छ रु उहाँहरूले निश्चित परिमाण र समय पहिल्यै थाहा भएमा गुणस्तरीय औषधि सस्तोमै दिन सकिने प्रतिबद्धता जनाउनुभएको छ ।’

सरकारले सिधै उद्योगबाट ठूलो मात्रामा औषधि खरिद गर्दा उद्योगीहरूको मार्केटिङ र कमिसन खर्च जोगिने र सोही कारण सरकारले सस्तोमा औषधि प्राप्त गर्ने उनको भनाइ छ । यसरी खरिद गरिएको औषधिको गुणस्तर सरकारी प्रयोगशालाले प्रमाणित गरेपछि बीमा कार्यक्रममार्फत जनतालाई सस्तो र सुलभ रूपमा वितरण गरिने मन्त्री गौतमले स्पष्ट पारिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x