स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने
काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न र नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उत्पादकहरूबाट एकमुष्ट औषधि खरिद गर्ने नीति ल्याउने भएको छ ।
बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विरोधाभासपूर्ण अवस्थालाई अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै खरिद गर्ने अवधारणा अघि सारेको बताएकी हुन्। हाल नेपालमा एकातिर सर्वसाधारणलाई औषधि अत्यन्तै महँगो परिरहेको र अर्कोतिर कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले पुरानै मूल्यमा औषधि बेच्नुपर्दा मर्कामा परेको गुनासो आइरहेको बताउर्दै उनले दुवै पक्षलाई फाइदा हुने) समाधान खोजिएको जानकारी दिइन् । भारतमा सञ्चालित ‘प्रधानमन्त्री जनऔषधि कार्यक्रम’मा ८० प्रतिशतसम्म छुटमा औषधि विक्री भइरहेको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै मोडल लागू गर्न सकिने बताइन्। यस विषयमा आफूले निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल गरिसकेको र उनीहरू सकारात्मक रहेको मन्त्री गौतमले जानकारी दिइन्। मन्त्री गौतमले नेपाली औषधि उद्योगहरूलाई व्यापक उत्पादन तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गरिन् ।
नेपालमा औषधि उद्योगको धेरै विकास भएपनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाइन् । हाल नेपालमा करिव ८८ वटा औषधि उत्पादक कम्पनीहरू रहेको र तीमध्ये ५० वटाले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ जिएमपी) प्रमाणपत्र पाएको बताउदै उनले यसलाई अझै परिष्कृत गर्नुपनेमा जोड दिइन् ।उनले नेपालमा उत्पादित औषधिको गुणस्तर मापन गर्न र निर्यात प्रवद्र्धन गर्न राष्ट्रिय औषधि प्रयोगशालाको तत्काल स्तरोन्नति गरिने समेत जानकारी दिइन् । हाल बजारमा उपलब्ध हजारौं प्रकारका औषधिहरूको परीक्षण गर्ने क्षमता राज्यसँग नभएको यथार्थलाई स्वीकार गर्दै मन्त्री गौतमले प्रयोगशालाको भौतिक तथा जनशक्ति विकासमा सरकारले काम शुरु गरिसकेको बताएकी हुन् ।
मन्त्री गौतमले नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेद औषधिको अनुसन्धान र उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन् नेपालका हिमाली तथा उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद औषधि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने सरकारको दीर्घकालीन सोच रहेको उनले प्रस्ट पारिन्। एलोपेथिक (आधुनिक) औषधिको उत्पादन मध्य र पूर्वी नेपालमा केन्द्रित रहेकाले अब आयुर्वेदलाई पश्चिम नेपालमा विस्तार गर्नुपर्ने उनको धारणा छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताए । निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुन लागेको उनको भनाइ छ । उनले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिवद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताए ।
फर्मामा नवीनता ः भोलिको स्वास्थ्यका लागि भन्ने नाराका साथ काठमाडौंको भृकुटिमण्डपमा आयोजना भएको १० औं नेपाल फर्मा एक्स्पो ३० गतेसम्म सञ्चालन हुने नेपाल औषधि उत्पादक संघले जनकारी दिएको छ । नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गर्न लागेको संघले जनाएको छ । औषधी उत्पादनको प्रक्रिया, औषधीको गुणस्तर र मापदण्डका बारेमा एक्स्पोबाट जानकारी प्राप्त गर्न सकिने संघले जनाएको छ । उएक्स्पोमा औषधी उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनरी लगाएतका करिव २ सय भन्दा बढि स्टलहरु रहने आयोजकले जनाएको छ । त्यस्तै स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरूको समेत प्रदर्शन गरिने संघले जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE