सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

कम्बोडियाको स्क्यामिङ केन्द्रबाट उद्धार गरिएका २१ नेपालीलाई स्वदेश फर्काइयो

काडमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियाको स्क्यामिङ केन्द्रहरूबाट उद्धार गरिएका २१ जना नेपालीलाई स्वदेश फर्काएको छ ।

कम्बोडियाको सरकारको सहयोग र गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल पठाइएको बैंककस्थित दूतावासले जनाएको छ ।

“यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ,” दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उद्धार गरी फर्काइएकाहरू विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थिए । उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएको थियो ।

कम्बोडियामा नेपाली नागरिकहरूलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिषा वा भिषा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

दूतावासले कम्बोडियामा अवैध तरिकाले रहेका नेपालीलाई टेलिफोन नम्बरहरू +८५५१२२१५५७८, +८५५९३२०३६६६ र +८५५९६३४६५७८८ मा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

“स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरै जनाको गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्दार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ,” दूतावासले भनेको छ ।

दूतावासका अनुसार, मानव तस्करहरूले ठूलो संख्यामा नेपालीलाई विभिन्न प्रलोभन देखाई कम्बोडिया पु¥याउने गरेका छन् ।

कम्बोडियाको पर्यटनसम्बन्धि तथ्यांकअनुसार, सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएका थिए । सन् २०२२ यो संख्या १ हजार ९७७ पुगेको थियो । सन् २०२३ मा २ हजार ९४० जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेको देखिन्छ ।

त्यसैगरी, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा ९ हजार ६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।

कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि पनि दूतावासले अनुरोध गरेको छ ।

बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रबाट उद्धार गरिएका १६ जना नेपालीलाई बिहीबार मात्र स्वदेश फर्काएको थियो । दूतावासले बुधबार तीनजनालाई यसैगरी नेपाल फर्काएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x