नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्याउन एनआरएनको लगानी अपरिहार्यः हेमराज ढकाल
काठमाडौं । नेपाल उद्योग परिसंघ का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघको १२ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने हुँदा देश विकासका लागि डायस्पोराको लगानी आवश्यक रहेको बताएका हुन्।
उपाध्यक्ष ढकालले युवाहरू विदेशिने क्रमलाई ‘ब्रेन ड्रेन’ का रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा लिनुपर्ने बताए। आफू पनि ३० वर्ष जापान बसेर त्यहाँको पद्धति र सीप सिकेर नेपाल फर्की व्यवसाय गरिरहेको उदाहरण दिँदै उनले दक्षिण कोरिया र जापानको सफलताबाट नेपालले सिक्नुपर्नेमा जोड दिए । लगानीको वातावरण बनाउन सरकारले कानूनहरूमा द्रुत रूपमा सुधार गर्नुपर्नेमा उनको जोड छ । जबसम्म आफ्नै डायस्पोरालाई नेपालमा लगानी गर्न विश्वस्त बनाउन सकिँदैन तबसम्म प्रत्यक्ष वैदेशिक लगानी आउन नसक्ने ढकालको दाबी छ ।
उनले भने, ‘हाम्रो आन्तरिक स्रोतले मात्र सय बिलियन डलरको अर्थतन्त्र बनाउन सम्भव छैन । एलडीसी ग्राजुएसनपछि वैदेशिक सहायताको योगदान कम हुने भएकाले नेपाललाई रूपान्तरण गर्न एनआरएनको लगानी बढाउनुको विकल्प छैन । सन् १९६६ तिर कोरियाले बाहिर गएका आफ्ना नागरिकलाई कर छुट र प्रशासनमा पहुँच दिएर फर्कायो, जसको अनुसन्धान र लगानीबाट हुन्डाई र किया जस्ता कम्पनी जन्मिए । जापानले पनि पेरु र ब्राजिल गएका आफ्ना नागरिकलाई फर्काएर उनीहरूको सीपको उपयोग ग¥यो । अब हामीले पनि ग्लोवल मार्केटमा रहेको नेपालीको नलेजलाई नेपालमा कनेक्ट गर्नुपर्छ । यसो गर्न सके अर्थतन्त्रलाई १०० बिलियन डलरभन्दा माथि लैजान सकिन्छ । हाम्रो डायस्पोराले वार्षिक करिव ३० देखि ३५ बिलियन डलर कमाइरहेको छ। त्यसको सानो हिस्सा मात्र नेपाल ल्याउन सके पनि यहाँ ठूलो रोजगारी सिर्जना हुन्छ र एफडीआई भित्र्याउन सहज हुन्छ ।’
‘सार्क ट्याङ्क नेपाल’को अनुभव सुनाउँदै उनले विदेशबाट फर्केका युवाहरूले ग्लोवल मार्केटलाई लक्षित गरी नयाँ र इनोभेटिभ आइडिया ल्याइरहेको बताए । राजनीतिक स्थिरता र कानुनमा सुधार हुँदै गएकोले आगामी दशक नेपालको लागि ‘स्वर्णिम दशक’ हुने उनको विश्वास छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE