१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौं । गैरआवासीय नेपाली संघ का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको अभाव रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२ औँ एकता महाधिवेशनमा उहाँले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका हुन्। उनले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको उल्लेख गरे ।
उनले आगामी १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र सजिलै बनाउन सकिने बताए । नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्ने हो भने अर्थतन्त्र अहिले नै करिव १०० बिलियन डलर पुग्न लागिसकेको उनको भनाई छ । हाल ८० लाख नेपालीहरु बाहिर रहेको र वार्षिक करिव २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उनले बताए ।
नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीहरूसँग पनि जोडिएको उनको भनाई छ । उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीहरूको लगानी महत्वपूर्ण हुने पनि बर्ताए । सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भुमिका खेल्न उनले गैरआवसीय नेपालीहरुलाई आह्वान गरे।
उनले विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा पनि जोड दिए । गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा नेपाल भित्रिन नसक्ने उनको भनाई छ । उनले नेपालीको निजी क्षेत्रले गैरआवासीय नेपालीहरुलाई बेवास्ता गरेको पनि गुनासो गरे । नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम नगरेसम्म नेपालले आर्थिक प्रगति गर्न सक्ने उनको भनाई छ ।
उनले भने, ‘हामीले नेपालीहरु बौद्धिक, आर्थिक, शारीरिक, मानसिक रुपमा नेपाललाई समृद्ध बनाउने क्षमता राखेका नेपालीहरु हौँ । हामीबीचमा एउटै कुराको अभाव छ, संकल्पको । त्यो संकल्प गरेमा छोटो समयमा नेपाललाई समृद्ध बनाउन सकिन्छ । २००३ मा ३० लाख नेपालीहरु बाहिर थिए, आज ८० लाख नेपाली बाहिर छन् । त्यो बेलामा ५ बिलियनको रेमिट्यान्सका कुरा गर्दा आज २० बिलियनका रेमिट्यान्सका कुरा गरिरहेका छौँ । देशको जिडिपी नेपालभित्र जति छ, त्यत्तिकै नेपाल बाहिर भएको छ । १० वर्षमा १०० बिलियनको ईकोनोमी बनाउने कुरा गरिरहेका छोँ, आजै यदी नेपाल बाहिर र भित्रको जोड्ने हो भने झन्डै १०० बिलियन पुग्न लागेका छौँ । हामी नेपाललाई किन समृद्ध बनाउन सक्दैनौ रु म गैरआवसीय नेपाली मित्रहरुलाई भन्न चाहन्छु, हामी सरकारसँग गुनासो मात्रै गर्छौं, सबै राम्रो भएको भए तपाई हाम्रो के आवश्यकता पर्ने थियो र रु जुन बेलामा देश अफ्ठ्यारोमा छ, नियम कानुनहरु अफ्ठ्यारा छन्, त्यस्ता बेला तपाई हामी आएर नेपाल बनाउने अभियान अगाडी बढाउनुपर्छ । आज नेपालीहरु विदेशी लगानीको कुरा गर्छौं । जबसम्म गैरआवासीय नेपालीका लगानी आउँदैनन् । नेपालभित्रै रहेका लगानीकर्ताहरुको लगानी राम्ररी अगाडी बढ्दैनन्, अरु विदेशी लगानीकर्ताको लगानी त्यतिकै लाउँदैनन् । पहिला यहाँका निजी क्षेत्रले गैरआवासीय नेपाली संघलाईसँगै लिएर हिड्ने गरेका थिए, तर अहिले यहाँका निजी क्षेत्रले लगानीका विभिन्न कार्यक्रमहरु गरेका हुन्छन्, तर गैरआवसीय नेपालाई अहिले छाडिदिनुभएको छ । केही व्यक्तिहरुको मतभेदलाई लिएर संस्थालाई भेदभाव नगर्नु नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर अगाडी बढेमा यो देश छिटो अगाडी बढ्छ ।’
उनले गैरआवसीय नेपालीहरुलाई विदेशमा बसेर सरकार र नेपालीलाई देश बनाउने सुझाव मात्रै नदिन आग्रह गरे। देश बनाउने दायित्व सबैको भएको उल्लेख गर्दै उनले नेपालमा आएर योगदान गर्न आह्वान गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE