सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

ट्रम्पले नेटो सहयोगीहरूसँग मद्दत मागे, अस्ट्रेलिया र जापानले गरे अस्वीकार

काठमाडौं । अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण तीव्र बनाइरहेका छन् भने इरानले पनि इजरायल र खाडी राष्ट्रहरुमा हमला गरिरहेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले इरानसँग वार्ता गरिरहे पनि तेहरान युद्ध अन्त्य गर्ने सम्झौताका लागि अझै तयार नरहेको बताएका छन् । उनले पानीजहाजको प्रमुख मार्ग ‘होर्मुज स्ट्रेट’ पुनः खुला गर्न नेटोका सहयोगी राष्ट्रहरूसँग मद्दतको माग पनि गरेका छन्।

प्रतिक्रियामा अस्ट्रेलिया होर्मुज स्ट्रेटमा युद्धपोत नपठाउने स्पष्ट पारेको छ । ट्रम्पले जलमार्ग खुला राख्न मद्दतको अपिल गरेपछि अष्ट्रेलियाकी यातायात मन्त्री क्याथरिन किङले एबीसी रेडियोसँगको अन्तर्वार्तामा यस्तो टिप्पणी गरेकी हुन्।

किङले भनिन्, ‘हाम्रा अनुरोधहरूको सम्बन्धमा हाम्रो योगदान के हो भन्ने कुरामा हामी धेरै प्रस्ट छौं। र अहिलेसम्म त्यो युएईको लागि हो। स्पष्ट रूपमा भन्नुपर्दा विशेषगरी त्यस क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकहरूको संख्यालाई ध्यानमा राख्दै रक्षामा सहयोग गर्न हामीले विमान उपलब्ध गराइरहेका छौं।’

उनले थपिन्, ‘तर हामी होर्मुज स्ट्रेटमा जहाज पठाउने छैनौं। हामीलाई थाहा छ त्यो कत्तिको महत्त्वपूर्ण छ। तर यो हामीलाई सोधिएको वा हामीले योगदान गरिरहेको विषय होइन।’

उता, जापानले पनि होर्मुज स्ट्रेट हुँदै पानीजहाजहरूलाई ‘एस्कर्ट’ गर्ने कुनै योजना नरहेको बताएकोछ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले संसद्‌मा भनेकी छिन्, ‘टोकियोको होर्मुज स्ट्रेट हुँदै तेलका ट्याङ्करहरूलाई ‘एस्कर्ट’ गर्न नौसैनिक जहाजहरू पठाउने कुनै योजना छैन।’

ताकाइचीले भनिन्, ‘हामीले एस्कर्ट गर्ने जहाजहरू पठाउने विषयमा कुनै पनि निर्णय गरेका छैनौं। जापानले स्वतन्त्र रूपमा के गर्न सक्छ र कानुनी दायराभित्र रहेर के गर्न सकिन्छ भन्ने विषयमा हामी निरन्तर परीक्षण गरिरहेका छौं।’

संसारको पाँचौँ हिस्सा तेल आपूर्ति हुने यस महत्त्वपूर्ण जलमार्गको सुरक्षाका लागि ट्रम्पले अमेरिकी सहयोगीहरूसँग लगातार मद्दत मागिरहेको बेला जापानको यस्तो भनाइ आएको हो।

इरानले प्रभावकारी रूपमा यो साँघुरो स्ट्रेटमा नाकाबन्दी लगाएको छ।

ताकाइची ट्रम्पसँगको वार्तापछि यसै साताको अन्त्यतिर वासिङ्टन डीसी जाने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x