प्रधानमन्त्री कप क्रिकेट : कर्णाली र लुम्बिनीको खेल वर्षाले अवरुद्ध
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । वीरगञ्जको नारायणी रंगशालामा शनिबार सुरु भएको एक दिवसीय खेल पानी परेपछि रोकिएको हो ।
वर्षा सुरु हुनुअघि कर्णालीले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको छ । कर्णालीका ओपनर रवीन्द्र शाहीले ९ र सुनिल धमलाले ७ रन बनाएका छन् । लुम्बिनीका बलर सन्देश थापाले चार ओभर बलिङ गर्दै १२ रन खर्चिएका छन् भने राजेन्द्र बमले तीन ओभर बलिङ गर्दै एक मेडनसहित आठ रन दिएका छन् ।
यसअघि लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । खेल सुरु भएको केही समयमै वर्षा सुरु भएपछि खेल रोकिएको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए ।
वर्षाकै कारण जनकपुरको रामजानकी रंगशालामा हुन लागेको कोशी र मधेस प्रदेशको खेल पनि वर्षाले प्रभावित बनेको छ । रामजानकी रंगशालामा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वर्षाले उद्घाटन समारोह समेत प्रभावित भएको कोषाध्यक्ष जयसवालले बताए ।
यस पटकको प्रधानमन्त्री कप मधेस प्रदेशका दुई र काठमाडौंको तल्लो र माथिल्लो मुलपानी गरि चार रंगशालामा हुँदैछ । प्रतियोगिताको फाइनलसहित १९ वटा खेल वीरगन्जमा र उद्घाटनसहित १७ वटा खेल जनकपुरमा हुनेछन् भने बाँकी १० वटा खेल तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
आईसीसी विश्वकप लिग २ को तयारीका लागि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा प्रधानमन्त्री कपको कुनै पनि खेल हुने छैन । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि रंगशालामा तय भएका सबै खेल मुलपानी रंगशालामा सारेको छ ।
झण्डै एक महिनासम्म आयोजना हुने प्रतियोगितामा तीन विभागीय र सात वटा प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता टोली हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE