मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा
काठमाडौं । हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ ।
मध्यपुूर्वमा भौतिक क्षति भन्दा मानसिक त्रास बढी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार बढ्दो मानसिक त्रासका कारण स्वदेश फर्किन चाहने नेपालीहरुको संख्या पनि बढ्दो रुपमा रहेको छ । यस क्षेत्रमा २० लाख भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेका छन् । नेपाल सरकारले नेपाल फर्किन चाहने नेपाली श्रमिकहरुलाई राजदुतावासले उपलब्ध गराउने फारम भर्न अनुरोध गरेको छ । हाल पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेको प्रवक्ता सापकोटाले बताए। नेपाल फर्किन चाहेका श्रमिकहरुसँग खर्च अभाव देखिएको उनको भनाई छ । उनले नेपाल फर्किन चाहेका र खर्च नभएको नेपालीहरुको उद्धारका लागि संघले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना गरेको जानकारी दिएका छन् । सोही कोष मार्फत उद्धारको तयारी भइरहेको उनको भनाई छ । संघको १२ औँ महाधिवेशन सम्पन्न भएपछि बसेको विस्तारित बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषलाई बढाएर १० करोड रुपैयाँसम्म पु¥याइने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले कोषको रकम उद्धारको साथै श्रमिकहरुको सुरक्षाको लागि खर्च गरिने बताए। साथै तेस्रो मुलुक जानको लागि मध्यपूर्वमा ट्रान्जिट भइ अलपत्र परेका नेपालीहरुको व्यवस्थापनमा खर्च गरिनेछ । प्रवक्ता सापकोटाका अनुसार हालसम्म मध्यपूर्वको द्वन्द्वमा परि दुई नेपालीको मृत्यु भएको छ । धेरै नेपालीहरु असुरक्षा महशुस गरिरहेका छन् । असुरक्षित महशुस गरेका नेपालीको उद्धारको लागिक परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका निकायहरूसँग समन्वय गरेर संघले उद्धार टोली परिचालन गरेको उनले जानकारी दिएका छन् । उक्त टोलीमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन् ।
प्रवक्ता सापकोटाले मध्यपूर्वमा हाल बाहिर फैलिएको जस्तो भयावहको स्थिति नभएपनि युद्धले आगामी दिनमा लिने रुप भने यकिन गर्न कठिन रहेको बताए। मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास नै बढी रहेको उनले दोहो¥याए। उनले आगामी दिनमा स्थिति अझ जटिल हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सरकार र संघ दुवै सचेत भएर काम गरिरहेको बताए । उनका अनुसार संघले मध्यपूर्व हुँदै अन्य देश जाने नेपालीहरूलाई अस्थायी बसोवास, मार्गदर्शन र सहयोग प्रदान गर्ने गरेको छ । उनले श्रमिकहरुको उद्धार तथा सुरक्षाको लागि विभिन्न देशमा फरक–फरक परिस्थितिअनुसार छुट्टाछुट्टै रणनीति अपनाउनुपर्ने भएकाले त्यसअनुसार योजना बनाइएको बताए।
उनले सरकार र संघ दुवैले सम्भावित संकटलाई ध्यानमा राखेर राहत तथा उद्धारलाई पहिलो प्राथमिकताका राखेको जानकारी दिए । द्वन्द्वको कारण ठूलो संख्यामा नेपालीहरू प्रभावित हुन सक्ने भएकाले समस्या उत्पन्न हुनुअघि नै तयारी सुदृढ पार्ने प्रयास जारी रहेको उनको भनाई छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE