छाती रोग अस्पताल अब छिट्टै सञ्चालनमा आउँछः स्वास्थ्य सचिव देवकोटा
काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं ः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार विश्व क्षयरोग दिवस मनाइएको छ ।
हरेक बर्ष मार्च २४ तारिखको दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । दिवसका अवसरमा भक्तपुरमा आयोजीत एक कार्यक्रमकाबीच नेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्ससम्बन्धि सम्मेलन हुने जानकारी गराइएको छ । सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपालमा तेस्रो पटक यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । क्षयरोग तथा एचआईभी एड्स रोग नियन्त्रणमा देखिएको चुनौतिलाई सामना गरेर अघि बढ्ने उद्देश्यसहित यस वर्ष पनि सो सम्मेलन नेपालमा गर्न लागिएको सो केन्द्रका निर्देशक डा. अनुज भट्टचनले जानकारी दिए । उनले सो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि त्यस क्षेत्रका विज्ञहरुलाई सहयोग गर्न पनि आह्वान गरे ।
सो केन्द्रले नेपालमा क्षयरोगीहरुको संख्या बढदै गएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नका लागि सबै स्थानीय सरकारलाई परिचालन गर्न अतिआवश्यक भएको निष्कर्ष समेत निकालेको छ । केन्द्रका निर्देशक भट्टचनले क्षयरोग नियन्त्रणको कामलाई प्रभावकारी बनाउन तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले छाती रोग अस्पताल सञ्चालनमा आउने बताए । अस्पताल बनिसकेको र त्यसलाई सञ्चालनमा ल्याउने जिम्मेवारी सरकारले लिने उनको भनाइ छ । उनले अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्न पनि राष्ट्रिय क्षयरोग अनुसन्धान केन्द्रलाई निर्देशन दिए । अस्पताल संचालनका लागि अरु कुनै समस्या भए त्यसका जिम्मा स्वास्थ्य मन्त्रालयले लिने उहनको भनाई थियो । सचिव देवकोटाले चालु कार्यक्रमहरुलाई पनि परिमार्जन गरेर प्रभावकारी रुपमा अघि बढाउन पनि सो केन्द्रका पदाधिकारीहरुलाई सचेत गराए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका ६ हजार २ सय ४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७ सय ८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १ सय ४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE