बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने

काठमाडौं। नेपाली कांग्रेसमा दुई समूहको किचलो सतहमा आएको छ । प्रतिनिधि सभा निर्वाचनमा सभापति गगन थापासहित सबै पदाधिकारीहरूसमेत पराजित भइ इतिहासमै कमजोर अवस्थामा पार्टी पुगेसँगै देउवा पक्षले समानान्तर गतिविधि तीव्र पारेको हो ।

सर्वोच्चको निर्णय नआउन्जेल गगन थापालाई सभापति नमान्ने र १४ औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै सक्रिय बनाउने उनीहरूको रणनीति छ ।यता, संस्थापन पक्षले भने समानान्तर गतिविधी गर्नुभन्दा पार्टीभित्रको असहमति संवादबाट टुङ्ग्याउनुपर्ने बताएको छ ।नेपाली काँग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरूको बैठक बसी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौती दिइएको छ ।

बैठकमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा शशांक कोइराला, बद्री पाण्डे, अर्जुन जंगबहादुर सिंह, अम्बिका बस्नेत लगाएतका केन्द्रीय सदस्य तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सभापति ललितजंग शाही , वीरबहादुर बलायर लगाएतका सहभागी रहेका थिए बैठकमा बोल्ने १५ जना केन्द्रिय सदस्यहरूले विशेष महाधिवेशनका नाममा गगन थापाले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएको । नेता नेपालीले सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्मका लागि पार्टीको आन्तरिक विवादलाई स्थगन गरिए पनि अर्को पक्ष (गगन थापा पक्ष) संवेदनशील नभएको आरोप लगाएका छन्।

खड्का–कोईराला पक्षले शेरबहादुर देउवाको नेतृत्वमा रहेको १२३ सदस्यीय केन्द्रिय समितिलाई नै आधिकारिक मानेको छ । अदालतको निर्णय नआउन्जेल गगन थापालाई सभापति नमान्ने र १४ औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै सक्रिय बनाउने उनीहरूको रणनीति छ । बैठकमा समानुपातिक उम्मेदवार चयनका क्रममा सभापति गगन थापाले विधान र प्रचलित कानूनको उल्लङ्घन गरेको विषयले प्राथमिकता पाएको छ । बैठकमा खड्काले शेरबहादुर देउवाले हस्ताक्षर गरी बुझाएको सूचीलाई तोडमोड गरिएको जानकारी गराएको थियो । विशेष गरी पिछडिएको क्षेत्रबाट सिफारिस भएकी केन्द्रिय सदस्य विद्या तिमल्सिनालाई हटाएर खस–आर्य कोटाका पुरुषलाई प्राथमिकता दिएको र दलित कोटामा एक नम्बरमा रहेका मानबहादुर नेपालीलाई पाखा लगाएकोमा बैठकले आपत्ति जनाएको छ । यो कदम सर्वोच्च अदालतले बालकृष्ण न्यौपानेको मुद्दामा कायम गरेको नजिर (दलित, जनजाति र महिलालाई प्राथमिकता दिने) विरुद्ध रहेको ठहर गरिएको छ ।

पार्टीभित्र निर्वाचित जनप्रतिनिधि र केन्द्रिय सदस्यहरूलाई कारबाहीको धम्की दिने, मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र ‘मिडिया ट्रायल’ गर्ने काम भइरहेको भन्दै बैठकले त्यसको भत्र्सना गरेको छ । मंगलवारको बैठकलाई नै आधिकारिक केन्द्रिय समितिको बैठक दाबी गर्दै यो पक्षले बुधबार पनि छलफललाई निरन्तरता दिने भएको छ । देशभरका जिल्ला, प्रदेश र स्थानीय कार्यसमितिहरूसम्म आफ्नो छुट्टै रणनीति लिएर जाने तयारी खड्का–कोइराला पक्षले गरेको छ । अदालतको अन्तिम फैसला नआउन्जेल थापाको नेतृत्वलाई नमान्ने र आन्तरिक सङ्घर्षलाई व्यवस्थित गर्दै १५ औँ महाधिवेशनको तयारीमा लाग्ने निष्कर्षमा यो समूह पुगेको छ ।

यसैबीच देउवा पक्षको भेला जारी रहँदा कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको असहमति संवादबाट टुङ्ग्याउनुपर्ने बताएका छन् ।प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिएपनि एक अर्कामा रहेको असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुने र यसले पार्टीलाई न्याय नगर्ने उनको भनाइ छ ।उनले आजका कर्मले भोलि आफैँलाई लज्जित हुनसक्ने भन्दै सोचका साथ अघि बढ्न आग्रह गरेका छन्।

उनले पार्टी अनुशासन सबैले मान्नुपर्ने बताउदै महाधिवेशन नजिकिएको समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुने दाबी गरेका छन् ।।यस्तै महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताउदै देशका हरेक संकटमा नेपाली काङ्ग्रेससँगै रहेर एकजुट रहेको र एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x