बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा पनि नेपाल अझै रिकभरीको चरणमै रहेको बताएका छन् ।

उनकाअनुसार नेपालले पनि २०२५ मा १५ प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरेको थियो । सोहीअनुसार पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि सञ्चालन गरेको थियो । तर ‘जेन–जी मुभमेण्ट’ र दशैं–तिहारको समयमा भएका प्राकृतिक विपद् (बाढी–पहिरो) र त्यसका कारण सडक अवरोध तथा उडान रद्ध हुँदा पर्यटन क्षेत्रमा असर परेको उनले बताए। पर्यटन आगमनले कमजोर देखिएपनि यस क्षेत्रको लगानीमा भने उल्लेखनीय प्रगति भएको उनको भनाई छ । विशेषगरी कोभिडपछि होटल तथा रिसोर्ट क्षेत्रमा ठूलो लगानी भित्रिएको छ । उनकाअनुसार कोभिडअघि करिव १०–१२ वटा मात्रै पाँचतारे होटल रहेकोमा हाल १५ भन्दा बढी सञ्चालनमा आएका छन् । साथै अन्तर्राष्ट्रिय चेन होटल र लक्जरी सेग्मेन्टमा समेत विस्तार भएको उनले जानकारी दिए।

जेन–जी आन्दोलनले पर्यटन क्षेत्रमा दीर्घकालीन नकारात्मक असर भने नपारेको उनले बताए । सुशासनको लागी भएको आन्दोलन भन्ने सन्देश गएकोले पर्यटन छिट्टै लयमा फर्किएको उनको भनाई छ ।

मध्यपूर्वको तनावले नेपालको पर्यटन क्षेत्रमा नयाँ चुनौती

उनले पर्यटनको लागि सन् २०२६ को शुरुवात सकारात्मक देखिएपनि नयाँ चुनौतीहरू थपिएको बताएका छन् । मध्येपुर्वमा देखिएको तनावको कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो चुनौती खडा भएको उनको भनाई छ । ईन्धनमा देखिएको अवरोधले सेवा समेत महँगो हुँदै जाने उल्लेख गर्दै उनले यो अवस्था लम्बिएमा यातायात, होटल र रेष्टुरेण्ट सेवामा समेत मूल्यवृद्धि हुने बताए। मूल्यवृद्धिको प्रत्यक्ष असर पर्यटकमा पनि पर्ने उनको भनाई छ ।

जोशीले नेपालमा पर्यटन बढाउनको लागि व्यवस्थापकीय सुधार अति आवश्यक रहेको बताए । साना तर महत्वपूर्ण व्यवस्थापकीय कमजोरीले नेपालको छवि धुमिल भएको उनको भनाई छ । नेपाल राम्रो देश र राम्रो मानिस भएको ठाउँ भएपनि व्यवस्थापनमा कमजोर छ भन्ने सन्देश गएको उनले बताए। पर्यटन क्षेत्रसँग सम्बन्धित पूर्वाधार, अध्यागमन सेवा, संरक्षित क्षेत्र व्यवस्थापन र आन्तरिक उडान ढिलाइ जस्ता समस्याहरू समाधान गर्नुपर्नेमा उनले जोड दिए । पर्यटकलाई अनावश्यक रूपमा यात्रा लम्ब्याउनुपर्ने अवस्था आउनु नकारात्मक हुने उनको भनाइ छ ।

नयाँ पर्यटकीय क्षेत्रको ब्राण्डिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ

नेपालले आफ्नो पर्यटन क्षेत्र उत्पादनको पहिचान र नयाँ प्याकेजिङमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको जोशीले बताएका छन् । हाल परम्परागत गन्तव्यहरू काठमाडौं, पोखरा र चितवनलाई नै सिमित गरेर पर्यटन प्रवद्र्धनको काम भईरहेको उनको भनाई छ । उनले यसलाई विविधिकरण गर्नुपर्ने बताएका छन् । उनले नेपालमा अत्याधिक सामुदायिक वन रहेको उल्लेख गर्दै उनले हति पर्यटनमा जोड दिनुपर्ने बताए । वनमा चराचुरुङ्गी अवलोकन तथा नदीमा एङ्गलिङ जस्ता नयाँ सम्भावनाहरू रहेको उनको भनाई छ । उनले हालै सेती नदीमा हालै एङ्गलिङ गरिएको जानकारी दिए । नेपालको सेती नदीमा १ सय भन्दा बढी ‘गोल्डेन महासिर’ रहेको उनको भनाई छ । उनले यस्ता अद्वितीय र दिगो पर्यटन उत्पादनको पहिचान र प्रवद्र्धन गर्नसके नेपालका लागि नयाँ अवसर सिर्जना हुन सक्ने बताए ।

उनले पर्यटकलाई दुःख दिने काम पनि गर्न नुहने बताएका छन् । पोखरामा पर्यटक बसिरहेको बेला होटलमा डोजर चलाएको प्रसंग उल्लेख गर्दै उनले त्यस्ता विषयमा पर्यटकहरुलाई अग्रिम सूचना दिनुपर्ने बताएका छन् ।

उनले पर्यटकहरुलाई सहजताको लागि पर्यटन बोर्डले ‘क्राइसिस कोअर्डिनेसन सेल’ स्थापना गरेको पनि जानकारी दिए । हड्ताल, कफ्र्यु वा सडक अवरोधका बेला विमानस्थलदेखि होटलसम्म शटल बस सञ्चालन गर्ने तथा प्राकृतिक विपद्का समयमा स्थानीय सरकार, जिल्ला प्रशासन, पर्यटन प्रहरी र निजी क्षेत्रसँग सहकार्य गरी उद्धार तथा समन्वय गर्ने व्यवस्था गरिएको उनले बताए। उनले पर्यटन बोर्डले चाहेर पनि धेरै काम बजेट र जनशक्ति अभावका कारण गर्न नसकेको बताएका छन् । केही नितिगत कारण पनि समस्या भईरहेको उनको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x