काठमाडौं।भारतीय विदेश मन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री शिशिर खनालबीच शुक्रबार भेटवार्ता भएको छ।भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत् शुक्रबार दिउँसो भएको भेटबारे जानकारी दिँदै मन्त्री खानाललाई पदभार ग्रहण गरेकोमा बधाई दिएका छन्।
उनले भारत–नेपाल सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्न विभिन्न क्षेत्रमा थप सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको उल्लेख गरेका छन्।जयशंकरले दुई देशबीचको साझेदारीलाई अझ गहिरो बनाउँदै आर्थिक, विकास र अन्य क्षेत्रहरूमा सहकार्य बढाउनेबारे कुराकानी केन्द्रित भएको बताए ।परराष्ट्रमन्त्री खनाल नवौँ हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्न बिहीबार मौरिससको पोर्ट लुइस प्रस्थान गरेका थिए।परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री डा। एस। जयशंकरको निमन्त्रणामा उनी त्यसतर्फ गएका थिए ।
१० अप्रिल शुक्रबार देखि १२ अप्रिल ९आइतबार० सम्म चल्ने यस सम्मेलनलाई इन्डिया फाउन्डेसनले मौरिसस सरकारसँगको सहकार्यमा आयोजना गरेको हो।यस वर्षको मुख्य नारा ‘कलेक्टिभ स्टेवार्डसिप फर इन्डियन ओसन गभर्नेन्स’ छ।
सम्मेलनका क्रममा परराष्ट्रमन्त्रीले हिन्द महासागरको शासन, हिमाल र समुद्रको पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्त्वबारे नेपालको दृष्टिकोण राख्दै छन्।उनले सम्मेलनका क्रममा विभिन्न देशका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत छ । त्यही क्रममा खनाल र भारतीय समकक्षीबीच भेट भएको हो । मन्त्री खनाल सोमबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।