अमेरिकाले होर्मुज खोल्ने ट्रम्पको चेतावनी
काठमाडौं । इरानसँगको दुई हप्ते युद्धविरामबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने योजनाको घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले इरानको सहयोग रहे पनि वा नरहे पनि अमेरिकाले यो कदम चाल्ने स्पष्ट पारेका छन् । उपराष्ट्रपति जेडी भान्स इरानसँगको शान्ति वार्ताका लागि पाकिस्तान प्रस्थान गरिसकेको समयमा यो घोषणा आएको हो ।
जोइन्ट बेस एन्ड्रयुजबाट उपराष्ट्रपति भान्स पाकिस्तान प्रस्थान गर्नुअघि ट्रम्पले इरानी सेना सैन्य रूपमा पराजित भइसकेको दाबी गरेका थिए । उनले वार्ताको परिणाम जे भए पनि होर्मुज जलमार्ग खुला गरिने बताएका छन् ।
उपराष्ट्रपति भान्सलाई वार्ताका लागि शुभकामना दिँदै ट्रम्पले इरानमाथि निशाना साँध्दै भने, “इरान सैन्य रूपमा पराजित भइसकेको छ । अब हामी होर्मुज जलमार्ग खोल्नेछौँ, चाहे कुनै सम्झौता होस् वा नहोस् । त्यो मार्ग खुला रहनेछ र हामी त्यहाँ उपस्थित हुनेछौँ ।”
शान्ति वार्तामा सहभागी हुन इरान र अमेरिकाका दुवैका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू इस्लामावाद पुगिसकेका छन् ।
इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफको नेतृत्वमा आएको टोलीमा विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद्का सचिव अली अकबर अहमदियान र केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेममती सहभागी छन् ।
उपराष्ट्रपति भान्सले वार्ताको लागि अमेरिकाको नेतृत्व गरिरहेका छन् । उनले इरानले ‘सद्भाव’का साथ वार्ता गरे अमेरिका रचनात्मक संवादका लागि तयार रहने, तर बेइमानी गरे वासिंटजबाट सकारात्मक प्रतिक्रिया नपाउने चेतावनी दिएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE